गृहपृष्ठ नसर्ने दीर्घ रोग भएकाहरूमा कोभिड-१९ को सर्वाधिक जोखिम : अध्ययन
नसर्ने दीर्घ रोग भएकाहरूमा कोभिड-१९ को सर्वाधिक जोखिम : अध्ययन
कोभिड-१९ को महामारीले नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशमा मधुमेह, क्यान्सर, श्वासप्रश्वासको समस्या वा हृदय रोगसहित नसर्ने प्रकृतिका दीर्घ रोग (एनसीडी) बिरामीहरूका लागि दोब्बर असर पारेको एक अध्ययनले देखाएको छ ।
फ्रन्टियर्स इन पब्लिक हेल्थ पत्रिकामा प्रकाशित शोधपत्रमा यस्ता नसर्ने प्रकृतिका दीर्घ रोग भएका व्यक्तिहरूमा व्यक्तिहरू कोभिड-१९ सर्ने तथा मृत्यु हुने जोखिम बढी रहेको उल्लेख छ । महामारीमा लागूपदार्थ दुरुपयोग, सामाजिक आइसोलेस र आहारका कारण यस्ता दीर्घ रोगीहरूको जोखिम बढाएको अध्ययनमा उल्लेख छ ।
अनुसन्धानकर्ताहरूले कोभिड १९ले गर्दा आवश्यक सार्वजनिक स्वास्थ्य सेवामा अवरोध पुगेका कारण दीर्घ रोगी भएका व्यक्तिहरू आफ्नो स्वास्थ्य व्यवस्थापन गर्न असमर्थ भएको जनाएका छन् ।
अध्ययनकर्ताहरूले नेपाल, भारत, बंगलादेश,पाकिस्तान, ब्राजिल र नाइजेरिया जस्ता कम र मध्यम आय भएका देशहरूमा नसर्ने प्रकृतिका दीर्घ रोग बिरामीहरूमा कोभिड-१९ को असरबारे अध्ययन गरेका थिए ।
यो अध्ययनका लागि सिड्नीस्थित न्यू साउथ वेल्स विश्वविद्यालय (यूएनएसडब्ल्यू) र नेपाल, बंगलादेश र भारतका सार्वजनिक स्वास्थ्य अनुसन्धानकर्ताहरूको बीचको समन्यवनमा करिब ५० शोधपत्रको विश्लेषण गरिएको थियो ।
युएनएसडब्ल्यूका अध्ययन प्रमुख लेखक उदय यादवले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूमध्ये नसर्ने प्रकृतिका दीर्घ रोग भएका व्यक्तिहरू बढी देखिएपछि यसको अन्तरसम्बन्धबारे अध्ययन गरिएको बताएका छन् ।
‘यसले कोभिड १९ को ‘सिन्डिमिक ‘ को नकारात्मक प्रभावलाई दर्साउँछ – जसलाई ‘सिनर्जिस्टिक महामारी’ को रुपमा पनि चिनिन्छ,’ यादवले भने । ‘सिनर्जिस्टिक महामारी’ सन १९९० को दशकमा एचआईभी / एड्स, लागूपदार्थ दुरुपयोग र हिंसाको बिचको सम्बन्ध वर्णन गर्न मेडिकल एन्थ्रोपोलोजिस्ट मेरिल सिंगरले प्रयोगमा ल्याएका थिए ।
यादवले यो शब्दलाई कोभिड-१९ र एनसीडीबीच जैविक र सामाजिक-पारिस्थितिजन्य कारकहरू बीचको अन्तरसम्बन्धको वर्णन गर्नका प्रयोग गरिएको बताए ।
शोधकर्ताहरूले मधुमेह, क्यान्सर, रक्तचापजस्ता नसर्ने प्रकृतिका रोगहरूले मानिसलाई दीर्घकालीन असर पारेजस्तै कोभिड १९- को ‘सिन्डिमिक’ लामो समयसम्म कायम रहने बताएका छन् । (आइएएनएस)
प्रकाशित समय १३:०१ बजे

















