गृहपृष्ठ डोटीमा भिरबाट लडेर एक महिलाको ज्यान गयो
डोटीमा भिरबाट लडेर एक महिलाको ज्यान गयो
दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार बाख्रा घर आए पनि शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
हत्या आरोपी पक्राउ
अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ पर्नेमा ढकारी–७ का नरेन्द्र बुढा र नरबहादुर बुढा रहेका छन् । पक्राउ परेकाहरुले यही कात्तिक १० राति ढकारी ३ स्थित चोइटेखालीबाट घर फर्किने क्रममा १५ वर्षीय देवेन्द्र थापा र सोही ठाउँका १४ वर्षीय रुद्र थापालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ ।
घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कात्तिक ११ बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही सुरु जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय १४:०७ बजे

















