गृहपृष्ठ झापामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
झापामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
कोरोना संक्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय संक्रमित वृद्धको मृत्यु भएको हो ।
गत कात्तिक ६ गते संक्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । मृतक मुटुरोगी थिए । गौरीगञ्जमा पहिलोपटक संक्रमितको मृत्यु भएको हो । यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
दुर्घटनामा घाइते महिलाको मृत्यु
गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को ३७ प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेको र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जनाएको छ ।
प्रकाशित समय १३:३१ बजे

















