गृहपृष्ठ जुवातासको खालबाट ६४ जना जुवाडे पक्राउ, सात लाख बरामद

जुवातासको खालबाट ६४ जना जुवाडे पक्राउ, सात लाख बरामद

tas-newskarobar

काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका ३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठसहित पाँच जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा ५५ हजार ३९० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको जोशीपुर गाउँपालिका १ स्याउले बजार बस्ने ३५ वर्षीय यज्ञबहादुर बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्टलगायत २९ जनालाई २ लाख ५१ हजार ४ सय रुपैयाँ र ८ गड्डी ताससहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तनहुँको भानु नगरपालिका १० चोकमैदान हानहटिया बस्ने सूर्यकुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय अर्जुन उप्रेतीलगायत १६ जनालाई ४८ हजार २७० रुपैयाँसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका ५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद १८ हजार ३८५ रुपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरीको मनराशिश्वा नगरपालिका ७ बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय विनोदकुमार साहसहित तीन जनालाई ३ लाख ३२ हजार ९६० रुपैयाँ र ९ थान कौडासहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट सलपल्लो र इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । खेलमा संलग्न अन्य फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको र यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु