गृहपृष्ठ छोरीको बैंक खातामा महिनैपिच्छे एकसय रूपैयाँ
छोरीको बैंक खातामा महिनैपिच्छे एकसय रूपैयाँ
तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि जन्मेदेखि हरेक महिना १ सय रूपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५औँ बैठकले कार्यविधि पारित गरेको हो ।
‘स्मार्ट छोरी, बिहेवारी बीस वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो लागू हुने भएको छ । उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा गर्ने उपप्रमुख माया शर्माले जानकारी दिइन् । यसका लागि चालु आर्थिक वर्षमा बजेटसमेत छुट्याइएको छ । उपप्रमुख शर्माका अनुसार यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिनभित्रमा अभिभावकले बालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बैँकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
जन्मेको पहिलो महिनामा एक हजार २ सय रूपैयाँ र त्यसपछि हरेक महिना १ सय का दरले खातामा रकम जम्मा हुने नगरपालिकाले जनाएकाे छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रूपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । त्यसका लागि २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्य रूपमा माध्यमिक तहसम्म अध्ययन गरेको हुनुपर्ने कार्यविधिमा जनाइएकाे छ ।
बाल विवाह गरेमा भने त्यो रकम सरकारी खातामा नै फिर्ता हुनेछ । तत्काललाई मासिक १ सय जम्मा गर्ने भए पनि आवश्यकताअनुसार कार्यविधि परिवर्तन गरेर रकम बढाउन सकिनेसमेत उपप्रमुख शर्माले बताइन् । कार्यविधिअनुसार समयअगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाइ भएमा भने खातामा जम्मा भएको रकम सबै दिनुपर्ने उल्लेख छ । (रासस)
प्रकाशित समय १४:०० बजे

















