गृहपृष्ठ सचिवालयको अनौपचारिक बैठक सकेर प्रचण्डसहितका नेताहरु बालुवाटारमा

सचिवालयको अनौपचारिक बैठक सकेर प्रचण्डसहितका नेताहरु बालुवाटारमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय  बैठकपछि नेकपाका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । अनौपचारिक रुपमा पार्टी कार्यालय धुम्बाराहीमा बसेकाे बैठक सकेर नेताहरु पार्टीको औपचारिक बैठकका लागि पहल गर्न बालुवटार पुगेका हुन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बालुवाटारमा पुगेका हुन् । बालुवाटार पुगेर प्रचण्डसहितका नेताहरुले पार्टीको औपचारिक बैठक बोलाउन ओलीसमक्ष अनुरोध गर्ने बताइएकाे छ । हिजो बसेको सचिवालयको अनौपचारिक बैठकले औपचारिक बैठक बोलाउनका लागि ओलीलाई सामूहिक रुपमै भेटेर पहल गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीको निर्देशन अनुसार महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा धुम्बाराही बैठकमा सहभागी भएनन् । बैठकमा पार्टीका कार्यकारी दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहभागी  थिए ।

प्रधानमन्त्री ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावनी दिँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेको प्रचण्डपक्षीय नेताहरूकाे आरोप छ ।

यसअघि शुक्रबार पनि प्रचण्डकाे अध्यक्षतामा सचिवालय बैठक बसेकाे थियाे । हिजाेकाे बैठकमा पनि अर्का अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी थिएनन् । शुक्रबारको बैठकपछि अध्यक्ष ओलीले ‘पार्टी फुटको बिन्दु त्यहीबाट सुरू हुने’ प्रतिक्रिया दिएका छन् ।

नेकपामा कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले विवाद उत्कर्षमा छ ।

पार्टीमा विवाद बढ्दै गएका बेला आज ओली केन्द्रीय सचिवालय बैठक बोलाउन सहमत नभएमा आफैँले औपचारिक बैठक डाक्ने प्रचण्डकाे तयारी रहेको उनीनिकट नेताहरूले बताएका छन् ।

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु