गृहपृष्ठ खार्पुनाथ गाउँपालिकामा पठनपाठन सुरु

खार्पुनाथ गाउँपालिकामा पठनपाठन सुरु

हुम्लाको खार्पुनाथ गाउँपालिकाले मंगलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मंगलबारदेखि सञ्चालनमा आएका हुन् ।

उच्च हिमाली क्षेत्र भएकाले मंसिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

जिल्लाका अन्य छ वटा गाउँपालिकामा रहेका विद्यालयहरु कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन सुरु गरिएको हो । एघार महिनादेखि विद्यालय जान नपाएका विद्यार्थी खुसी भए पनि नपढेर नै वार्षिक परीक्षा हुने भएपछि चिन्तित भएका छन् ।

जिल्लाभरका विद्यालयहरु एक महिना पढाइ गरेर मंसिरमा वार्षिक परीक्षा सम्पन्न गरेर शैक्षिक सत्र बन्द गर्ने तयारीमा छन् । चिसोका कारण मीनपचासका लागि बिदा हुने भएकाले मंसिरमा वार्षिक परीक्षा सम्पन्न गरेर तीन महिना विद्यालय बन्द गरी फागुनमा नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी भइरहेको छ ।

प्रकाशित समय ०८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु