गृहपृष्ठ ११ दिनपछि खुल्यो म्याग्दीको बेनी बजार

११ दिनपछि खुल्यो म्याग्दीको बेनी बजार

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिसका आधारमा बन्द खुलाइएको बताए । कोरोना फैलिन नदिन नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवाका साथै बजारका पसलहरु बन्द गरिएको थियो । ५८१ घरको तीन हजार ९९० जनासँग भेटघाट गर्दा पहिचान भएका १३ जनाको कोरोना संक्रमणसँग मिल्ने लक्षण भएकाको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको र होम आइसोलेसनमा राखिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लिला गौतमले बताए ।

घरदैलो गरेको टोलीको प्रतिवेदनको आधारमा नगरपालिकाले बजारमा कोरोना नियन्त्रणमै रहेको ठहरसहित जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बन्द खोल्न सिफारिस गरेको थियो । प्रशासनले भिड व्यवस्थापन, दूरी कायम, स्यानिटाइजर, मास्कको प्रयोग तथा हात धुने व्यवस्थासहित बजार तथा सेवा खुलाएको हो । तिहारको अवसरमा देउसीभैलो खेल्न, मेला महोत्सव, भेला गर्न रोक लगाइएको भन्दै प्रशासनले परिवारका सदस्य मात्रै भएर पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ ।

मंगला गाउँपालिकाले मंसिर १ गते र मालिका गाउँपालिकाले २६ गतेसम्मलाई गरेको सेवा तथा बजार बन्दलाई यथावत राखेका छन् । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कात्तिक १९ देखि गरेको बजार तथा सेवा बन्दलाई कोरोना संक्रमित पहिचान हुने दर बढेकाले कात्तिक २८ गतेसम्म लम्ब्याएको जनाएको छ ।

म्याग्दीमा हालसम्म ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाबाहिर सङ्क्रमण पुष्टि भएका म्याग्दीका ११ जनाको औपचारिक र सात जनाको अनौपचारिक जानकारी छ । म्याग्दीबाट दुई हजार १० वटा स्वाबको नमूना परीक्षणका लागि पठाइएकोमा एक हजार ९७६ वटाको नतिजा आएको छ । (रासस)

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु