गृहपृष्ठ प्रधानमन्त्रीद्वारा किमाथांका नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

प्रधानमन्त्रीद्वारा किमाथांका नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका- ५, फ्याक्सिन्दामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री ओलीले त्यसअघि चीनसँग जोडिएको किमाथांकामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए । उनले किमाथांकामा रहँदा सीमा सुरक्षा अवस्थाको निरीक्षण तथा किमाथांका भएर हुनसक्ने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे पनि जानकारी लिए । यसका साथै प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)को किमाथांकामा निर्माणाधीन भवनको समेत अवलोकन गरे ।

किमाथांकाको कार्यक्रमपछि निर्माणाधीन उत्तर-दक्षिण (कोशी) सडकको अनुगमनका लागि भोटखोला- २, च्याम्ताङमा पुग्ने प्रधानमन्त्री ओलीको कार्यक्रम भने भाैगाेलिक कारणले हेलिकप्टर अवतरण हुन नसक्दा रद्द भएको थियो । प्रधानमन्त्रीको स्वागतका लागि आयोजना गरिएको कार्यक्रमलाई तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा परिणत गरिएको भोटखोला- २ का अध्यक्ष छिरिङ छेदर भोटेले बताए ।

२०७२ सालको भारतीय नाकाबन्दीताका नेपाल सरकारले किमाथांका सहितका चीनसँगको नाका खुलाउने निर्णय गरेको थियो । त्यसयता चर्चामा रहेको किमाथांकामा बहालवाला प्रधानमन्त्रीको भ्रमणपछि बाँकी कामले तीव्रता पाउने अपेक्षासहित स्थानीय स्तरमा उत्साह थपिएको छ ।

प्रधानमन्त्री ओलीका साथ संघीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुखहरू पनि संखुवासभा आएका थिए ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु