गृहपृष्ठ गाउँ र अन्नबालीको सह बोलाएपछि देउसीभैलो निषेध

गाउँ र अन्नबालीको सह बोलाएपछि देउसीभैलो निषेध

मुरली-बाँसुरी बजाउन, सुसेली हाल्न र हो-हल्ला गर्नसमेत मनाही

तेनताम्मा पूजा गर्दै माङहाङवा (पूजारी) ।

देउसीभैलो र नाचगानविना तिहारको रौनकता हुन्न । वर्ष दिनमा आउने नेपालीको दोस्रो ठूलो पर्व तिहारको विशेषता भन्नु नै घर-घर गएर देउसीभैलो र नाचगान गर्नु हो । समूह बनाएर वा कुनै क्लब, संस्थामार्फत देउसी भैलो र नाचगान गरेर प्राप्त दक्षिणाको रकमले गाउँमा सामाजिक कार्यहरु पनि गर्ने गरिन्छ ।

संखुवासभामा मुख्य बसोवास रहेको आदिवासी याक्खा जातिले भने गाउँमा देउसी भैलो र नाचगान निषेध गर्न परम्परागत पूजा ‘तेनताम्मा’ (गाउँ पूजा) गर्ने गरेका छन् । याक्खा जातिको बसोवास रहेको जिल्लाका विभिन्न गाउँहरुमा यस वर्ष पनि यस्तो परम्परागत पूजा गरिएको छ । सामूहिक रुपमा गरिने यो पूजा सम्पन्न भएपछि गाउँमा देउसी भैलो खेल्न र नाचगान गर्न निषेध हुन्छ ।

२०१७ सालदेखि पछिल्लो समयसम्म तत्कालीन मादी मूलखर्क गाउँ पञ्चायत/गाविसका प्रधानपञ्च/अध्यक्ष भएका डम्बरुप्रसाद जिमीका अनुसार तेनताम्मा गरेपछि गाउँमा मुरली-बाँसुरी बजाउन, सुसेली हाल्न र हो-हल्ला गर्नसमेत मनाही हुन्छ । गाउँ र अन्नबालीको सह (लच्छिन) डाक्नका लागि तेनताम्मा गरिने भएकाले यो पूजा सम्पन्न भएपछि हो-हल्ला र नाचगान गरे सह भाग्ने जनविश्वास रहेको याक्खा क्षेत्रको तत्कालीन दशमझिया थुमअन्तर्गत वालिङ गाउँका जिम्मावालसमेत रहेका जिमीले बताए ।

तेनताम्मा पूजा गरेपछि गाउँमा हो-हल्ला गर्नेलाई ‘जिम्मावाल काल’मा कारबाहीसमेत हुने गरेको जिमीले सुनाए । ‘पूजा गरेपछि गाउँघरमा हो-हल्ला र नाचगान गरे देवीदेवता रिसाउने र अन्नबालीको सह भाग्ने मान्यता हो । सह भागेपछि गाउँमा अनिकाल लाग्छ । दुखबिमार र अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । त्यही भएर पनि तिहार देउसी भैलो खेल्न पनि मिल्दैन,’ उनले भने । उनका अनुसार यस्तो पूजा प्रत्येक गाउँले सामूहिक रुपमा एक वर्षको अन्तरमा गर्ने गरेका छन् । तर केही गाउँमा पूजा नै गर्न छाडिएको र केहीमा तीन वर्ष लगातार गरेर बाँकी तीन वर्ष पूजा नगर्ने नियम बनाइएको उनले सुनाए । पूजा नगरेको वर्ष भने देउसीभैलो लगायत नाचगान गर्न छुट हुन्छ ।

प्राय अन्नबाली पाकेपछि दसैं र तिहारको बिचमा गरिने यो तेनताम्मामा पुर्खाहरु पहिलोपटक बास बस्न आइपुग्दा पानी खाएको धारा, कुवा र मुहानको पूजा गरिन्छ । यस अवसरमा पुर्खाहरुले बसाएको बस्ती र फाँडेको भष्मे-खोरियाको साथै खोला-नालालगायत प्रकृतिको समेत पूजा हुने याक्खा जातिको इतिहासका खोजकर्ता मागमान लिंखा बताउँछन् । ‘अन्नबालीलाई बाढीपहिरो र असिनापानीबाट जोगाइदिएकोमा प्रकृतिलाई धन्यवाद दिने हो । हालसम्म वंश परम्परा, रीतिथितीको पालना र प्राकृतिक प्रतिकुलतासँग जुध्नका लागि आशिर्वाद दिने पितृहरुप्रति कृतज्ञता चढाउने हो,’ उनले पूजाको महत्व बताए । लिंखाका अनुसार प्राकृतिक प्रतिकुलताका बाबजुद जे-जति अन्नबाली उत्पादन भयो, त्यसले वर्षभरि खान पुगोस् भनी तेनताम्मामा कामना गर्ने गरिन्छ ।

दसैंमा पनि खासै चहलपहल नहुने याक्खा समुदायमा तेनताम्मा पूजा गरेपछि तिहारमा समेत रमाइलो गर्न नपाउँदा युवायुवतीहरु भने केही खल्लो मान्ने गरेका छन् । नाचगान निषेध हुँदा तिहारमा मात्र नाचिने याक्खा जातिको ‘डोकेनी नाच’जस्ता पृथक र मौलिक संस्कृतिहरु लोप हुन थालेको कतिपयको भनाइ छ ।

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु