गृहपृष्ठ प्रत्येक पाँच किलोमिटरको दूरीमा बीओपी स्थापना गरिँदै

प्रत्येक पाँच किलोमिटरको दूरीमा बीओपी स्थापना गरिँदै

दार्चुलाको छाङरुमा बीओपी उद्घाटन गरिँदै (फाइल तस्बिर) ।

भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बीओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बीओपी स्थापनाको पहल भएको हो ।

भारतसँग जोडिएको धनगढीको पुण्टे घाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घाट, भजनी नगरपालिकाको हलौना घाट, कालापातल र पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बीओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख एसएसपी दीपेन्द्र कुँवरले बताए ।

कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बीओपी रहेको छ । कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल (एसएसबी)को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ ।

‘प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गर्नसकेमा सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न थप प्रभावकारी हुनेछ,’ एसएसपी कुँवरले भने । नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा ५०० जति बीओपी स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ ।

पछिल्ला महिनामा कैलाली जिल्लाको सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको एसएसपी कुँवरले दाबी गरे । (रासस)

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु