गृहपृष्ठ मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या, बलात्कारपछि हत्या गरिएको आशंका
मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या, बलात्कारपछि हत्या गरिएको आशंका
सांकेतिक तस्बिर
पूर्वी मकवानपुरको बागमतीमा तीन वर्षीया बालिकाको हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बागमती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घटनास्थल नजिकै उनको भित्री वस्त्र फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुंगाले हानेर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।
बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।
प्रकाशित समय १०:४० बजे

















