गृहपृष्ठ विस्टाद्वारा वर्ल्डलिंक र आइमार्क सम्मानित

विस्टाद्वारा वर्ल्डलिंक र आइमार्क सम्मानित

वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विस्टा) ले वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र आइमार्क प्रालिलाई सम्मान गरेको छ । मलेसियामा भइरहेको टेकफेस्ट लाइव एक्स रोड-टू-डब्ल्यूसीआईटी मलेसिया २०२० (TECHFEST Live X Road-to-WCIT Malaysia 2020) को दोश्रो दिन विस्टाले वर्ल्डलिंकलाई डिजिटल अपर्चुनिटी/ ईन्क्लुजन अवार्ड (Digital Opportunity/Inclusion Award) र आइमार्कलाई कोभिड-१९ वेस्ट ईन्डस्ट्री सोलुसनबाट सम्मानित गरेको हो ।

विगत २० वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोबल आइसिटी एक्सिलेन्स अवार्ड कार्यक्रम कोभिड – १९ महामारीका कारण यो वर्ष भर्चुअल माध्यमबाट गरिएको थियो । विश्व बैंकका सिनियर डिजिटल डेभलपमेन्ट स्पेस्लिस्ट ओलेग पेट्रोव, डिजिटल ट्रेड नेटवर्कका जेनेभा प्रतिनिधि निक एस्टन-हार्टलगायत सात सदस्यीय छ्नौट समितिले विश्वका विभिन्न मुलुकका ४१ वटा निजी कम्पनी तथा सार्वजनिक संस्थाहरुलाई अवार्डका निम्ति छनौट गरेको हो ।

नेपालको सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विशेष योगदान गरेवापत वर्ल्डलिंक सो पुरस्कारबाट सम्मानित भएको हो । वर्ल्डलिंकले करिब ८५५० ठाउँबाट निःशुल्क वाईफाई सेवा दिँदै आएको छ भने दैनिक करिब एक लाख ५० हजार जनाले सो सेवा लिइरहेका छन् ।

त्यस्तै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका निम्ति आइमार्क प्रा.लिले सो पुरस्कारबाट सम्मानित भएको हो । आइमार्कले, पायोनियर एसोसियट्स र आईडियल कन्सर्नसँगको सहकार्यमा नेपाल सरकारको निम्ति कोभिड एनपी कन्ट्याक ट्रेसिङ मोबाइल एप्लिकेशन बनाएको थियो भने कोभिड-१९ र यसको रोकथाम उपायहरूको बारेमा सिक्नको लागि सर्वसाधारण र स्वास्थ्यकर्मीहरुको निम्ति वेबमा आधारित प्लाट्फर्म www.covid19.gov.np उपलब्ध गराएको थियो ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा (WISTA) विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु