गृहपृष्ठ सप्तरीमा जंगली हात्ती मृत फेला
सप्तरीमा जंगली हात्ती मृत फेला
फाइल तस्बिर ।
सप्तरीको कञ्चनरूप नगरपालिका- ५, परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ ।
बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभी विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।
‘नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो’, उनले भने, ‘हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।’ उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने जानकारी दिए । घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका छन् । मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताए । (रासस)
प्रकाशित समय १०:४८ बजे

















