गृहपृष्ठ आज नेपाल भ्रमणमा आउँदै भारतीय विदेश सचिव हर्षवर्धन

आज नेपाल भ्रमणमा आउँदै भारतीय विदेश सचिव हर्षवर्धन

भारतीय विदेश सविच हर्षवर्धन शृंगलाले दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउने भएका छन् । परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने बताइएको छ । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्नुका साथै नेपाललाई कोरोनासँग जुध्न आवश्यक वस्तुहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू-भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई करिब ६ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले गत वर्ष नेपालको भूभागलाई समेटेर एकतर्फी रुपमा नयाँ नक्सा जारी गर्नुका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माणपछि उद्घाटन नै गरेपछि नेपाल-भारत सम्बन्ध थप चिसिएको थियो ।

भारतीय विदेश सचिवको भ्रमणको पहिलो दिन बिहीबार परराष्ट्र सचिव भरतराज पौड्यालसँग एक्लाएक्लै अनि दुवै देशका सचिवबीच हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ । राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन लगायत विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले बताएको छ । विदेश सचिव शृंगला प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि शिष्टाचार भेट गर्नेछन् ।

प्रकाशित समय ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु