गृहपृष्ठ बलात्कारका घटना : ९० प्रतिशत आफन्तबाटै

बलात्कारका घटना : ९० प्रतिशत आफन्तबाटै

ओरेक नेपालको तथ्यांकअनुसार देशभर ७५ प्रतिशत बालिका पीडित

पछिल्लो ६ महिनामा नेपालमा ३१९ वटा बलात्कारका घटना भएको ओरेक नेपालको तथ्यांकमा उल्लेख छ । ओरेक नेपालका धनुषा संयोजक रोजलिन सिंह बछारले जारी गरेको अवधारणा पत्रमा ओरेक नेपालमा अभिलेखिकरण भएका घटनामध्ये ७५ प्रतिशत घटना दुई वर्षदेखि १८ वर्ष मुनिका बालिका तथा किशोरी छन् ।

बलात्कारका घटनामध्ये ९० प्रतिशत घटना परिचित, घरपरिवार, छिमेक र आफ्नै समुदायबाटै भएको सो तथ्यांकले देखाएको छ । महिला तथा किशोरीका लागि घर तथा समुदाय दुवै सुरक्षित नभएको ओरेक नेपालका धनुषा संयोजक बछारले बताए । उनका अनुसार दैनिक ७ वटा करणीका घटना हुने गरेका छन् । बन्दाबन्दीको समयमा लैंगिक हिंसाका कारण देशभर ४७ जना महिलाको हत्या भएको बताए ।

ओरेक नेपालले सार्वजनिक गरेको अवधारणा पत्रमा नेपाल प्रहरीको पछिल्लो २०७६ चैत्रदेखि २०७७ भदौसम्मको तथ्यांकमा एक हजार २२१ वटा घटना दर्ता भएका छन् । बन्दाबन्दीको समयमा भएका महिलामाथि लैगिक हिंसाका घटना भए पनि न्याय र प्रहरीसमक्ष पहुँच हुन नसकेर घटना अभिलेखिकरण हुन नसकेको जनाएको ओरेक नेपालले जनाएको छ ।

बलात्कारका घटना भइरहेको भन्दै महिला हिंसा न्यूनीकरण तथा मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघ–संस्थाहरुको पहलमा २९औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियान २०२० को अवधारणा पत्र पनि सार्वजनिक गरिएको छ । ओरेक नेपाल धनुषा, इन्सेक, महिला मानवअधिकार रक्षक संजाल, एड्भोकेसी फोरम नेपाल, एम्नेष्टी इन्टरनेशनल, थर्ड एलायन्सलगायत मानवअधिकारको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुको संयुक्त आयोजनामा १६ दिने महिला हिंसा विरुद्धको अभियान जारी रहेको हो ।

‘मौनता तोडौं, बलात्कार र लैगिक हिंसाविरुद्ध बोलौं’ भन्ने मुल नाराका साथ बलात्कार तथा लैंगिक हिंसाका बारेमा जनचेतना, हिंसा नहुने वातावरण, प्रभावितको सामाजिक न्याय तथा कानुनी न्यायको अधिकार सुनिश्चितताको वातावरण निर्माणको माग गर्दै १६ दिने अभियानको सुरुवात गरिएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु