गृहपृष्ठ गण्डकी प्रदेशको ऐन संग्रह विमोचन

गण्डकी प्रदेशको ऐन संग्रह विमोचन

गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानुनको संग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न चारखण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको चारवटा संग्रह पुस्तकको शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विमोचन गरे ।

गण्डकी प्रदेशसभा गठनपछि सभाबाट हालसम्म ४६ ऐन पारित भएकामा त्यसमध्ये ४४ वटा पुस्तिकामा समावेश गरिएको छ । प्रदेशले पारित गरेका ऐन कानुन स्थानीय तह, अदालतलगायतका कानूून कार्यान्वयन गर्ने एकाइमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकाय बेखबर बन्ने अवस्था आउन नदिन संग्रह प्रकाशनमा ल्याइएको र सबै निकायमा उपलब्ध गराइने मन्त्री चुमानले बताए । प्रदेशको एकल अधिकार सूचीमा रहेका कानुन संविधानसँग नबाँझिने गरी बनाउने गरिएको बताउँदै मन्त्री चुमानले भने, ‘एकल अधिकार सूचीका कानुन बनाउँदा संविधानसँग नबाँझिने गरी बनाएका छौं । कतिपय साझा अधिकार सूचीमा रहेका विषयमा सङ्घमा कानून नबन्दा प्रदेशलाई अप्ठ्यारो भए पनि संघको मापदण्ड र आधारअनुसार कानुन निर्माण गरेका छौं ।’

मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानुनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको बताए । प्रदेश ऐन संग्रहको पहिलो खण्डमा प्रदेशस्तरका आयोग/निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेशसभा, स्थानीय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्बन्धित ऐन समावेश छ ।

यसैगरी दोस्रो खण्डमा राजस्व, आर्थिक प्रशासन, यातायात, जलस्रोत ऊर्जा तथा भौतिक पूर्वाधारसँग सम्बन्धित कानून, तेस्रो खण्डमा उद्योग वाणिज्य, पर्यटन, वन वातावरण, विज्ञान प्रविधि, खाद्य, कृषि, सहकारी र भूमिसँग सम्बन्धित कानुन छन् । चौथो खण्डमा शिक्षा, स्वास्थ्य, खेलकुद, महिला, बालबालिका, समाज कल्याण तथा संस्कृतिसँग सम्बन्धित विषय छन् ।

प्रकाशित समय ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु