गृहपृष्ठ नवराज विक हत्या प्रकरण : पाँच जनालाई धरौटीमा छाड्न आदेश

नवराज विक हत्या प्रकरण : पाँच जनालाई धरौटीमा छाड्न आदेश

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही एक/एक लाख धरौटी माग गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा उक्त रकम धरौटी माग्दै छाड्न आदेश दिएको हो ।

यसअघि तत्कालीन मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच अभियुक्तमध्येका ६ जनालाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो । उच्च अदालतका रजिस्ट्रार माधवप्रसाद आचार्यले संयुक्त इजलासको राय बाँझिदा एकल इजलासमा पेस गर्ने कानूनी व्यवस्था रहेको बताए । मुख्य न्यायाधीशको एकल इजलासले ६ जना मध्येका एक सविन पुनलाई थुनामै राख्न र बाँकी पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

मुख्य न्यायाधीश सुवेदीको इजलासले घटना विवरण कागजमा प्रतिवादी सविन पुनले भेरी नदी पार गरेर भागिरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको, पुनः नदीमा गएको र भंगालो पार गरी भागिरहेकालाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ । अन्य पाँच जनाले घटना हुँदाका बखत आफू खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयं उपस्थित भएर बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाट समेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टि नभएको आधारमा पछि ठहरेबमोजिम हुनेगरी हाललाई धरौटीमा छोड्न आदेश भएको रजिस्ट्रार आचार्यले बताए ।

जेठ १० गते रुकुम पश्चिमको सोतीमा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित गणेश बुढामगर, सञ्जिव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी १ का टीकाराम नेपालीको हत्या भएको थियो । (रासस)

प्रकाशित समय २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु