गृहपृष्ठ धान बेच्न खाद्य डिपो पुगेका किसानको ‘बेहाल’, चार दिनसम्म त्रिपालमुनि बास

धान बेच्न खाद्य डिपो पुगेका किसानको ‘बेहाल’, चार दिनसम्म त्रिपालमुनि बास

यस वर्ष सरकारले धानको न्यूनतम खरिद मूल्य बढी तोकेसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा किसानको लाइन लागेको छ । धनगढीको मोहनपुरमा कम्पनी लिमिटेडको गोदाममा धान बिक्री गर्ने किसानको भिड छ । धान बिक्री गर्न आएका कृषकलाई चार दिनसम्म खुला आकासमुनि बस्नुपर्ने बाध्यता छ ।

कम्पनीले डिपोमा एउटा मात्रै काँटा लाउँदा किसानहरुले धान बिक्री गर्न यस्तो सास्ती खेप्नु परेको हो । कञ्चनपुर बेलौरी- ८ का किसान राजु चौधरी ४ दिनअघि धान बिक्री गर्न कम्पनीको गोदाममा पुगे । निजी व्यापारी र कम्पनीको मूल्यमा अन्तर भएपछि उनी पहिलोपटक त्यहाँ पुगेका हुन् । मंसिर ८ गते गेटा पुगेका उनी गोदाम परिसरमै खाना पकाउँदै थिए । चार चौंथो दिन पनि पालो कुरिरहेका उनलाई अझै कति दिन कुर्नुपर्ने हो थाहा छैन ।

बेलौरी- ६ कै हरिद्वारी राना पनि धान बेच्न आएको चार दिन भएको छ । उनको पनि पालो आएको छैन । उनका अनुसार ट्रयाक्टरमा लोड गरेर धान ल्याएका उनले पनि गोदाम परिसरमै खाना पकाउने र ट्रयाक्टरमा सुत्ने गरेका छन् । गोदाम परिसरमा गोरु गाडादेखि ट्याक्टरमा धान लोड गरेर पालो पर्खिरहेका किसानहरु लाइनमा देखिन्थे । गोरु गाडामा धान ल्याएकालाई अझै बढी समस्या हुने गरेको उनीहरुले बताए ।   

कञ्चनपुरकै छबिलाल राना पनि ३ दिनदेखि धान बेच्न लाइनमा थिए । ‘नजिक घर हुनेहरू भने गाडा गोदाम परिसरमै छोडेर घर जाने गर्छन्,’ उनले भने, ‘दिनभर गोरुगाडासहित लाइनमा बस्नुपर्छ । आफू त भोकै छौं । गोरुलाई पनि के खुवाउने भन्ने चिन्ता छ,’ रानाले समस्या सुनाए । दिनभर लाइनमा बसेर साँझ घरमा गए पनि गोरुलाई के खुवाउने भन्ने समस्या हुने उनीहरु बताउँछन् ।

खाद्यले समयमै धान खरिद नगर्दा समस्या आएको कृषकको भनाइ छ । धान बिक्रीबाट आएको रकमले गहुँ खेती गर्नुपर्ने बाध्यता किसानलाई छ । धेरैजस्तो किसानले खाद्यको भर नपरी अन्य व्यापारीलाई धान बिक्री गरेका छन् । ‘लागत अनुसारको मूल्य पाउँदा खुसी भएका छौँ,’ धनगढी- ९ का किसान जगदीश रानाले भने, ‘लामो समय लाइनमा बसेर तोकिएको खरिद केन्द्रमा धान बेच्न कठिन भएको छ ।’

यस वर्ष व्यापारी र सरकारले तोकेको मूल्यमा अन्तर धेरै भएपछि खाद्यमा कृषकको भिड लागेको हो । सरकारले मध्यम धानको मूल्य प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २७ सय ३५ रुपैयाँ तोकेको छ । स्थानीय व्यापारीले भने बढीमा २२ सय रूपैयाँसम्ममा खरिद गरेका छन् । खाद्यको प्रादेशिक कार्यालय धनगढीले चालु वर्षमा कैलाली र कञ्चनपुरबाट ७० हजार क्विन्टलभन्दा बढी धान खरिद गर्ने लक्ष्य लिएको छ । कैलालीमा ६५ हजार र कञ्चनपुरमा ७ हजारको हाराहारीमा धान खरिद गर्ने कम्पनीले लक्ष्य छ ।

धान बिक्री गर्ने किसान धेरै हुँदा व्यवस्थापनमा केही समस्या भएको धनगढी कार्यालयका प्रमुख अनिलकुमार श्रेष्ठले बताए । सरकारी र व्यापारीले दिएको मूल्यमा धेरै अन्तर भएकाले कैलालीको मात्र नभएर कञ्चनपुरबाट समेत किसानले धान ल्याएको उनले बताए । मंगलबारसम्मको तथ्यांकअनुसार २२ हजार एक सय ४७ क्विन्टल धान खरिद गरिएको उनले जानकारी दिए ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु