गृहपृष्ठ शवदाह गृह निर्माणमा स्थानीयवासीको विरोध, अदालतमा मुद्दा

शवदाह गृह निर्माणमा स्थानीयवासीको विरोध, अदालतमा मुद्दा

शवदाह गृह निर्माणस्थल ।

पोखरा महानगरपालिका- १०, शान्तिवन क्षेत्रमा निर्माणाधीन विद्युतीय शवदाह गृह विवादमा तानिएको छ । पोखरा महानगरपालिकाले २०५५ सालमा क्षेत्राधिकार नाघेर गैरकानुनी रुपमा उक्त वन बौद्ध अर्घो सदन र रामघाट दाहसंस्कार समितिका नाममा गरिदिएकोप्रति स्थानीयहरुले गत माघबाट नै विरोध गर्दै आएका हुन् ।

आर्थिक वर्ष २०७५/७६ मा सहरी विकास मन्त्रालयले कास्कीमा विद्युतीय शवदाह भवन निर्माणको लागि बजेटसमेत पारित गरेको थियो । त्यसपछि नै विरोध सुरु भएको हो । करिब ३० करोडको लागतमा निर्माण हुन लाएको उक्त शवदाह गृह बनाउनका निम्ति शान्ति वन क्षेत्रबाहेक बौद्ध अर्घो सदन परिसर, वडा नं. १० सेतीघाट एंव महानगरभित्रै प्रशस्त मात्रामा जग्गा हुँदाहुदै उक्त ठाउँमा नै बनाउन आवश्यक नरहेको स्थानीयवासीको तर्क छ । सम्बन्धित निकायले स्थानीयहरुको राय नबुझी आफुखुशी शान्ति वन मास्न लागेको उनीहरुले आरोप लगाउँदै आएका छन् ।

शान्तिवन सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष सम्झना अधिकारीले विद्युतीय शवदाह गृह निर्माणका लागि महानगरमा कयौं सम्भावित ठाउँहरु भएर पनि बजारको बिचमा बस्तीनजिकमा बनाउन नहुने बताइन् । ‘अहिले शान्ति सामुदायिक वन पनि दर्ता भइइसकेको छ । वनभित्र रेखांकित भएको जग्गामा हामीले खन्न, खोस्रिन केही पनि गर्न दिँदैनौं ।’ वडादेखि महानगर बोलाएर स्थानीयहरुसँग समन्वय गर्ने पहल नभएको उनले बताइन् । ‘शान्ति सामुदायिक वन दर्ता भइसकेपछि हामीसँग विधान, कार्ययोजना छ, अब यो वन क्षेत्रभित्र शवदाह गृह होइन । कुनै पनि भौतिक संरचनाहरु बनाउन नमिल्ने नियम छ,’ उनले भनिन् ।

स्थानीय, वुद्धिजिवी, विज्ञ लगायतले विरोध जनाइसकेपछि पोखरा महानगरपालिकाले समन्वय समिति गठन गरेको थियो । तर स्थानीसँग कुनै प्रकारको समन्वय भएको छैन । विकल्प हुँदाहुँदै वन फडानी गरेर शवदाह गृह निर्माण गर्न लागिएको भन्दै हालिएको मुद्दा पोखरा उच्चअदालतमा विचाराधीन छ । शवदाह गृहसँग सम्बन्धित अर्को मुद्दामा सर्वोच्चले आयोजना पक्षधरका नाममा कारण देखाउ आदेशसमेत जारी गरिसकेको छ ।

स्थानीयवासीसँग छलफल ।

वातावरण प्रभाव मूल्यांकनको कुराहरु स्पष्ट रुपमा नआइकन यस क्षेत्रमा कुनै पनि भौतिक संरचनाहरु निर्माण हुन गएमा प्रतिकुल असर पर्ने भूगोलविद कृष्ण केसीले बताए । ‘शान्ति वन क्षेत्र पोखरा महानगरपालिकाको मुख्य ठाउँमा रहेको हुँदा साविकको नापीको क्षेत्रफलबाट चुँडिएर जाने, विनाआधार साँघुरिदै गएर यस क्षेत्रको अस्तित्व नै संकटमा परेको छ । यो राम्रो कुरा होइन,’ उनले भने, ‘यसले पोखरेलीले चाहेको परिणाम दिँदैन । त्यसैले गर्दा यस क्षेत्रका स्थानीयहरुको चाहना के छ भन्ने महानगरले कुरा बुझ्न जरुरी छ ।’

शान्तिवन आसपास ठुलो वस्ती छ । शवदह गृहबाट निस्केको धुलो धुवाँले स्थानीयहरुलाई असर गर्ने हुँदा उक्त स्थान शवदाह गृह निर्माणका लागि उपयुक्त नभएको स्थानीयवासीहरुको तर्क छ ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु