गृहपृष्ठ चालकसँग एक मिनेट !

चालकसँग एक मिनेट !

जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतले चालकसँग एक मिनेट कार्यक्रम सुरु गरेको छ । आगामी एक हप्तासम्म निरन्तर सञ्चालन गर्ने गरी मंगलबार कार्यक्रम सुरु गरिएको हो । सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न चरणमा चालक र दोस्रो हप्तादेखि सहचालक हुँदै, पैदलयात्रीसँग समेत सो कार्यक्रम सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर सुर्खेतमा सवारीहरुको चापसँगै दुर्घटना पनि बढेकोले दुर्घटना न्यूनीकरणको लागि उक्त कर्यक्रम सञ्चालन गरिएको उनले बताए ।

मंगलबार वीरेन्द्रनगरका मुख्य सवारी आवत/जावत हुने स्थानहरुमा दुर्घटना न्यूनीकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको आचार्यले जानकारी दिए । ‘पछिल्लो समय सवारी चालकहरुमा लापरबाही बढेको छ,’ उनले भने, ‘ठूलो दुर्घटनाबाट नागरिकलाई बचाउन यो कार्यक्रम सञ्चालन गरेका हौं ।’ सडक दुर्घटना हुनुमा सवारी चालकको मात्रै लापरबाही नहुने भएकोले पैदल यात्रीलाई समेत यो कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन केही सवारीचालकले ट्राफिक नियमको पालना नगरी जथाभाबी बाटो काट्ने, ओभरट्याक गर्ने गरेको पाइएकोले त्यस्ता चालकलाई ट्राफिक सिङनल, साइन तथा नियम समबन्धि सुझाव तथा जानकारी दिइएको थियो । एक हप्तासम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन वीरेन्द्रनगरका मुख्य चौकहरु मंगलगढी, यरीचौक, बसपार्क, वीरेन्द्रनगर चौकमा चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु