गृहपृष्ठ कोरोना महामारीमा पनि ‘ढुक्क’ छ यातायात कार्यालय
कोरोना महामारीमा पनि ‘ढुक्क’ छ यातायात कार्यालय
सेवाग्राहीको भिड भइरहने यातायात व्यवस्था कार्यालयमा पनि कोरोना संक्रमणको कुनै पर्वाह देखिएको छैन । धनगढीस्थित यातायात व्यवस्था कार्यालयको भीडलाई हेर्दा कोरोना प्रकोप सकिएको हो कि भन्ने अनुभूति हुन्छ । सेवाग्राहीहरु ठेलमठेल गरेर लाइनमा बसेको देखिन्छ । तर कार्यालयले भने स्वास्थ्य सुरक्षा मापदण्डसमेत अपनाउन सकेको छैन, कोरोना महामारीमा पनि ढुक्क छ ।
यातायातसम्बन्धी कामका लागि टाढा-टाढाबाट सेवा लिन आउने सेवाग्राहीहरुले सहज सेवा पाउन झञ्झट त व्यहोर्नु परिरहेकै छ, अझ कार्यालयमा बढेको भीडका कारण कोरोना संक्रमणको जोखिम पनि थपिएको छ । समयमै कामकाज नहुने, राजस्व बुझाउन लामो लाइनमा बस्नुपर्ने लगायतका समस्या सेवाग्राहीले भोग्दै आएका छन् । साधारण कामका लागि पनि २, ३ दिनसम्म धाउनु परेको उनीहरुको गुनासो छ ।
सवारी साधन नवीकरणका लागि आएका गौरीगंगा नगरपालिका कैलालीका प्रकाश चौधरीले यातायात कार्यालयमा कोरोना संक्रमणप्रति कुनै सजगता नदेखिएको बताए । ‘कोरोना महामारी यतिका व्याप्त छ । नेपालमा पनि दिनदिनै कोरोनाबाट मानिसहरुले ज्यान गुमाइरहेका छन् । तर यस्ता सरकारी कार्यालयबाटै स्वास्थ्य मापदण्डको उल्लंघन भइरहेको देख्दा अचम्म लाग्छ,’ उनले भने, ‘यसरी नै भीडभाड गर्नु थियो भने त्यतिका महिनासम्म गरेको लकडाउनको अर्थ के रह्यो र ।’
कार्यालयमा सवारीपास गर्न, दर्ता, नवीकरण, राजस्व बुझाउन, नामसारी गर्न, स्मार्ट कार्ड लिन सेवाग्राही विभिन्न जिल्लाबाट आउने गरेका छन् । यातायात व्यवस्था कार्यालयमा समयमै काम नबन्दा सेवाग्राही निराश छन् । स्मार्ट कार्ड लिनसमेत महिनौँ कुर्नुपर्ने बाध्यता हट्न नसकेको सेवाग्राहीहरुको गुनासो छ । कार्यालयको कामकाज चुस्तदुरुस्त बन्न नसक्दा पनि सास्ती व्यहोर्नु परेको उनीहरु बताउँछन् ।

डोटीको जोरायल गाउँपालिकाबाट मोटरसाइकल नामसारी गर्न आएका फडे पुन पनि कार्यालयले नै ढिलासुस्ती गर्ने बताउँछन् । ‘यत्रो कोरोना महामारी छ । नत सुरक्षा मापदण्ड नै लागू गरिएको छ, नत समयमै काम नै हुन्छ,’ उनले भने । कोरोना महामारी फैलाउने काम राज्यका यस्तै निकायले गरेको उनले आरोप लगाए ।
धनगढीकै राजेन्द्र गिरि पनि गाडी नामसारी गराउन यातायात कार्यालय पुगेका थिए । कोरोनाको डरत्रास भए पनि यातायात कार्यालय आएपछि भीडभाडमा जान बाध्य हुनु परेको उनले बताए । ‘नआइ पनि नहुने, आउँदा पनि यस्तो जोखिम छ । सरकारी कार्यालयकै यस्तो लापरबाही छ, कोरोना महामारी कसरी नियन्त्रण होला र ?’ उनले भने ।
यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले समस्या भोगेको कार्यालयका प्रमुख लक्ष्मण शाहले पनि स्वीकारे । अहिले दैनिक २/३ हजार सेवाग्राहीको काम भइरहेको उनले बताए । ‘कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा नै अपनाइएको छ,’ उनले दाबी गरे । सेवाग्राहीको चापका कारण भनेजस्तै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन नसके पनि यथासक्य व्यवस्थापन गरिरहेको कार्यालय प्रमुख शाहले बताए ।
सुरु भएको एक वर्ष बित्न लाग्दा पनि नियन्त्रणमा आउन नसकेको कोरोना महामारीका कारण सर्वसाधारणमा त्रास छ । तर सरकारी कार्यालयहरुमा भने हेलचेक्र्याइँ देखिन्छ । विभिन्न स्थानबाट आएका सर्वसाधारणहरुको यस्तो भिडले संक्रमणको जोखिम झनै बढाएकोप्रति सम्बन्धित निकायको ध्यान भने गएको छैन ।

प्रकाशित समय १५:१० बजे

















