गृहपृष्ठ कोभिड-१९ ले विश्वव्यापी ज्याला घट्यो : आईएलओ

कोभिड-१९ ले विश्वव्यापी ज्याला घट्यो : आईएलओ

international labour organization (ILO)

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोभिड-१९ का कारणले सन् २०२० को पहिलो ६ महिनामा विश्वका अधिकांश देशमा श्रमिकहरूको ज्याला घटेको र यो संकटले निकट भविष्यमा अझ बढी ज्याला घट्ने सम्भावना रहेको जनाएको छ ।

आईएलओका अनुसार यो संकटका कारण सबैभन्दा बढी महिला र यसअघि नै कम ज्याला पाउँदै आएका श्रमिकहरू बढी प्रभावित भएका छन् ।

आधिकारिक तथ्यांक उपलब्ध भएका देशहरूमध्ये एक तिहाइमा भने औसत ज्याला बढेको अपवाद देखा परेको आईएलओले सार्वजनिक गरेको ‘ग्लोबल वेजेज रिपोर्ट २०२०-२१’ ले देखाएको छ ।   ठूलो अनुपातमा कम ज्याला पाउने श्रमिकहरूले आफ्नो रोजगारी गुमाएका र औसत ज्याला गणनामा तिनलाई समावेश नगरिएका कारण ज्याला बढेको देखिएको हो ।

केही देशले भने रोजगारी बचाउन कडा कदम चालेका कारण तिनमा संकटको प्रभाव मुख्यतया ठूलो रोजगारी गुम्नेका सट्टा ज्यालादर घटेको अनुभव गरिएको आईएलओले जनाएको छ ।

यो प्रतिवेदनले विश्वका सबै श्रमिकहरू संकटबाट समान रूपमा प्रभावित नभएको देखाएको छ, जसअनुसार पुरुषका तुलनामा महिलामा सबैभन्दा बढी असर परेको छ । यसैगरी संकटले सबैभन्दा बढी कम ज्याला पाउने श्रमिकहरूमा असर पारेकाले समग्र ज्यालादर असमानता चुलिएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड-१९ पछि विश्वका केही देशहरूले संकटको समयमा रोजगारीको सुरक्षाका लागि ज्याला अनुदान दिएको भन्दै आईएलओले यसको सराहना गरेको छ । प्रतिवेदनअनुसार नेपाल न्यूनतम ज्याला लागू गर्ने देशहरूको सूचीमा परे पनि नेपालले संकटका समयमा श्रमिकलक्षित कुनै ठोस कार्यक्रम भने अगाडि सारेन ।

प्रकाशित समय १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु