गृहपृष्ठ सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण ७० प्रतिशत पूरा
सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण ७० प्रतिशत पूरा
ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माणाधीन रहेको युद्ध संग्रालयको भवन । तस्बिर : अनिल भण्डारी,
सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२औं विजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमका बीच युद्ध संग्रालयको तत्कालिन रक्षामन्त्री ईश्वर पोखरलले शिल्यान्यास गरेसँगै निर्माणले तीब्रता पाएको हो ।
भवन निर्माणको काम ७० प्रतिशत पूरा भइसकेको बर्दबहादुर गणका गणपति विजय थापाले जानकारी दिए । उनका अनुसार करिब चार करोड पचास लाख रुपैयाँ बजेटमा युद्ध संग्रहालय निर्माण भइरहेको छ । तत्कालिन इस्ट इण्डिया कम्पनीका सेनालाई पराजित गरि ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले युद्ध संग्रहालय बनाई ऐतिहासिक झल्को दिने संग्रहालय बनाउन लागेको हो । युद्ध संग्रहालयमा नेपालको रक्षा गर्न वीरपूर्खाहरुले प्रयोग गरेका सम्पूर्ण सामाग्री रहने गणपति थापाले बताए । ‘इतिहासको जगेर्ना गर्दै युवा पुस्तालाई इतिहासको महत्व बुझाउनका लागि सिन्धुलीगढी र यहाँ बन्ने युद्ध संग्रहालयले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने ।
नेपाल एकीकरणका बेला आधुनिक हतियारले अंग्रेज फौजलाई हराएर बिरासत बोकेको सिन्धुलीगढीमा युद्धमा प्रयोग भएका हातहतियार स्थानीयसँग भए युद्ध संग्रहालयमा राख्न स्थानीयलाई सेनाले अनुरोध गरेको छ । वि.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न ईष्टइण्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको छ । सोही खुसीयालीमा सिन्धुलीगढीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वर्षेनी सिन्धुलीगढी विजयोत्सवसमेत मनाइदै आएको छ ।
सिन्धुलीगढीका अनुसन्धानकर्ता सागरकुमार ढकालका अनुसार वि.स १८२४ कार्तिक २४ गते इस्ट इण्डिया कम्पनीका कप्तान किनलोकनको नेतृत्वमा आएको २४ सय अंग्रेजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको इतिहास छ । जतिबेला झन्डै १६ सय अंग्रेज सेनाहरु हताहत भएका थिए । अंग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको ढकाल बताउँछन् ।
वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरुले काठमाडौंमा व्यापक लुटपाट गरी वनेपा हुँदै फकिर्दा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सितामाढी) फर्किएका थिए भन्ने ऐतिहासिक प्रमाण भएको खोजकर्ताहरु दाबी गर्छन् ।
प्रकाशित समय ११:१४ बजे

















