गृहपृष्ठ सुदूरपश्चिम प्रदेश सरकारले आठ स्थानमा अक्सिजन प्लान्ट निर्माण गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले आठ स्थानमा अक्सिजन प्लान्ट निर्माण गर्ने

smart

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका आठवटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । ६ वटा जिल्ला अस्पताल र अन्य दुई अस्पतालमा अक्सिजन प्लान्ट राख्ने निर्णय मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको हो ।

डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी जिल्ला अस्पताल तथा कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन प्लान्ट तत्काल निर्माण गर्ने निर्णय भएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । यसबाट कोरोना संक्रमितको उपचारमा पनि सहज हुने उनले बताए ।

‘सेती अस्पतालबाहेक प्रदेशका अन्य अस्पतालमा आवश्यक पर्ने अक्सिजन सिलिन्डरमा बोकेर लैजानुपर्ने अवस्था छ,’ मन्त्री सुवेदीले भने, ‘यस्तो बाध्यता अन्त्यका लागि मिनी अक्सिजन प्लान्ट जतिसक्दो चाँडो बनाउने भनेका छौँ ।’

डडेल्धुरा अस्पतालमा भने संघीय सरकारले नै अक्सिजन प्लान्ट राख्न लागेको उनले बताए । सुदूरपश्चिममा अहिले सेती प्रादेशिक अस्पतालमा मात्रै अक्सिजन प्लान्ट छ । अक्सिजन प्लान्ट नहुँदा खासगरी पहाडी जिल्लाका अस्पतालहरूमा सेवाग्राहीले उपचारमा समस्या भोग्दै आएका छन् ।

सुदूरपश्चिममा अहिले गम्भीर प्रकृतिका कोरोना संक्रमित पनि दिनहुँ बढ्दै छन् । त्यस्ता बिरामीलाई अक्सिजनको समस्या हुन्छ । संक्रमितको उपचारमा सहज होस् भनेर पनि अक्सिजन प्लान्ट राख्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशका लागि आवश्यक केही कर्मचारीको पदपूर्ति गर्ने निर्णयसमेत प्रदेश सरकारले गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ४३ जना प्राविधिक कर्मचारी करारमा भर्ना गर्ने निर्णय भएको मन्त्री सुवेदीले जानकारी दिए ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु