गृहपृष्ठ कैलाश गाउँपालिकाका ४२५ परिवारलाई कम्बल वितरण
कैलाश गाउँपालिकाका ४२५ परिवारलाई कम्बल वितरण
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घर परिवारलाई कम्बल वितरण गरेका छन् । सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवं केएफएचआइ नामक संस्थाको सहयोगमा बुधबार उनले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का ४२५ परिवारलाई कम्बल वितरण गरेका हुन् ।
वृद्धवृद्धा, असहाय र गरिबलाई चिसोबाट जोगाउन प्रतिपरिवार एउटाको दरले ४२५ परिवारलाई कम्बल वितरण गरिएको छ । त्यस अवसरमा सभामुख श्रेष्ठले नागरिकलाई चिसोबाट जोगाउने दायित्व सबैको भएको बताए । चिसो मौसम सुरु भएको र उक्त क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यका साथ कम्बल वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भई न्यानो ओढ्ने, ओछ्याउने नभई समस्या उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राखेर कम्बल वितरण गरिएको बाल विकास कार्यक्रम नेपालका संयोजक रामलाल स्याङ्बोले बताए । संस्थाले गाउँपालिकाको ३, ४, ९, १० वडालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।
हेटौँडा बजारमा पैदलयात्रुका लागि कुर्ची
बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मुख्य शहर क्षेत्र हेटौँडा बजार क्षेत्रमा पैदलयात्रुको सहजताका लागि बजारका विभिन्न स्थानमा सिमेन्टका कुर्ची व्यवस्थापन गरिएको छ । हेटौँडाका ठाउँठाउँमा पैदलयात्रुलाई बस्नका लागि विभिन्न बजारी क्षेत्रमा सिमेन्टका २५ वटा कुर्ची राखिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।
सो कुर्चीको आर्थिक व्यवस्थापन हेटौँडा उपमहानगरपालिकाले गरेको छ । हेटौँडाको बुद्धचोकमा चार, सिमाचोकमा तीन, अजम्बरोडमा दुई, वासुकला चोकमा तीन, मानसचोकमा दुई, नगरपालिका रोडमा चार र मनकामना जाने बाटोमा छ वटा कुर्ची राखिएको छ । सिमेन्टका रंगिन कुर्ची राखिएपछि यात्रुलाई बस्नका लागि सजिलो भएको र यस क्षेत्र सुन्दरसमेत देखिएको छ । बस्नका लागि कुर्ची राखेपछि यात्रुसमेत खुशी भएका छन् । (रासस)
प्रकाशित समय ०८:१४ बजे

















