गृहपृष्ठ मध्यपश्चिम विश्वविद्यालयमा आगामी वर्षको लागि साढे ८० करोड बजेट स्वीकृत
मध्यपश्चिम विश्वविद्यालयमा आगामी वर्षको लागि साढे ८० करोड बजेट स्वीकृत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको दशौं सभाको बैठक काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ८० करोड ५० लाख १४ हजार बजेटसमेत विनियोजन गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा.नन्दबहादुर सिंहले राखेका सातवटा प्रस्तावलाई समेत पारित गरेको छ । सिंहले बैठकमा राखेको विश्वविद्यालयको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७६/७७ को आम्दानी र खर्च अनुमोदन सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७७/७८ को प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव बैठकबाट पारित भएको हो । त्यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ मा पाँचौ संशोधन सम्बन्धी प्रस्ताव, मध्यपश्चिमाञ्चल शिक्षक–कर्मचारी नियमावली २०६९ मा चौथो संशोधन सम्बन्धि प्रस्ताव, मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वायत्ततता सम्बन्धि नियमावली २०७५ मा प्रथम संशोधन सम्बन्धि प्रस्ताव सभाको बैठकले पारित गरेको हो ।
त्यस्तै क्याम्पसहरुका नाम हेरफेर सम्बन्धि प्रस्ताव र दरबन्दी सम्बन्धि प्रस्तावसमेत सभाको बैठकबाट पारित भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सभामा बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयबाट शून्य सहनशीलता र पारदर्शीताको लडाई सुरु गरेको बताए । उनले विश्वविद्यालयमा रहेको बेथितिलाई अन्त्य गरी व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि एकै पटक २७ वटा कार्यविधि निर्माण गरेको जानकारी दिए । उपकुलपति सिंहले विश्वविद्यालयमा कृषि तथा वन विज्ञान संकाय, स्वास्थ्य विज्ञान संकाय, अनुसन्धान तथा विकास केन्द्र, कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि अध्ययन संस्थान जस्ता विषयहरु सुरुवात गर्ने योजना रहेको जानकारी दिए ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समय नभएका कारण सह–उपकुलपतिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
प्रकाशित समय ०७:३४ बजे

















