गृहपृष्ठ ‘पूर्वाधार निर्माणमात्रै होइन, चेतना अभिवृद्धि पनि विकास हो’

‘पूर्वाधार निर्माणमात्रै होइन, चेतना अभिवृद्धि पनि विकास हो’

पूर्वाधार विकास मात्रै नभई चेतना अभिवृद्धि नै वास्तवमा विकास भएको शिवालय गाउँपालिका जाजरकोटकी उपप्रमुख कुमारी थापाले बताएकी छन् । पूर्वाधार विकासलाई संरक्षण गर्नको लागिसमेत चेतना हुनुपर्ने उनले तर्क गरिन् । ‘तीन वर्षको अवधिमा हामीहरुले अभावका बीचमा पनि पूर्वाधार विकास गरेका छौं,’ उनले भनिन्, ‘तर चेतना अभिवृद्धि गर्न सकिएन भने त्यसको औचित्य नहुँदो रैछ ।’ उनले कानुनमा लेखेर मात्रै सबै कुरा परिवर्तन नहुने तर्क गरिन् ।

सहकर्मी समाज नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको दुई दिने जनकेन्द्रित विकास अवधारणा सम्बन्धि समिक्षात्मक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘म महिला भएकै कारण विवादमा मुछिएकी छु,’ उनले भनिन्, ‘जनप्रतिनिधिको हैसियतले गाउँपालिकाले गरेको हरेक विकास खर्चको लेखाजोखा राख्ने अधिकार मलाई पनि हुनुपर्छ ।’ उनले सुनाइन् । तर, महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेर्ने भएकै कारण आफू विवादमा मुछिएको उनले बताइन् । जनप्रतिनिधि र कर्मचारीलाई जवाफदेही बनाउनको लागि नागरिकको समेत उत्तिकै भूमिका हुनुपर्ने उनको भनाई रहेको थियो ।

जनप्रतिनिधिले आफू सरकारको प्रतिनिधि हुँ भन्ने कुरा भुल्न नहुने भेरी नगरपालिका जाजरकोटकी कार्यपालिका समस्य पार्वती वि.कले बताइन् । उनले व्यक्तिगत स्वार्थका लागि नेतृत्व लिने उद्देश्य कसैले पनि राख्न नहुने तर्क गरिन् । शिवालय गाउँपालिका तथा भेरी नगरपालिका जाजरकोटका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिक बीचको दुई दिने गोष्ठीमा सहभागी वि.कले व्यक्तिगत स्वार्थले नेतृत्व सफल नहुने बताएकी थिइन् ।

सहकर्मी समाजका कार्यकारी निर्देशक अमरबहादुर राईले विकासप्रति जनप्रतिनिधि र कर्मचारीको बुझाई तथा तीन वर्षको अवधिमा गरेको कामको आत्माविश्लेषण गर्नको लागि गोष्ठीको आयोजना गरिएको बताए । गोष्ठीमा ५५ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित समय १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु