गृहपृष्ठ विदेशमा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई आइएमईको सहयोग
विदेशमा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई आइएमईको सहयोग
विदेशमा कोरोनाभाइरस (कोभिड-१९) बाट ज्यान गुमाएका श्रमिकका परिवारलाई आइएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । आइएमईद्वारा सञ्चालित आइएमई ‘भरोसा कोष’ले श्रमिकका आफन्तलाई रकम सहयोग गरेको हो ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कोषले श्रमिकका आफन्तलाई चेक हस्तान्तरण गरेको हो । ७९ जना आवेदकहरुमध्ये कोषले ७ जनालाई ५०/५० हजारका दरले चेक हस्तान्तरण गरेको आइएमई लिमिटेडले जनाएको छ । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई पे वालेटमार्फत् भुक्तानी गर्ने गरी चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘कोभिडका कारण विदेशमा ज्यान गुमाएका परिवारका आफन्तलाई समवेदना प्रकट गर्दै केही सहयोग होस् भन्ने उद्देश्यले भरोसा कोषको स्थापना गरिएको हो ।’
कोषका प्रबन्ध निर्देशक हेमराज ढकालले विदेशमा गएका श्रमिकको कोरोना भाइरसका कारण भएको निधनले सम्बन्धित परिवारको लागि मात्र नभएर सिंगो देशको लागि पनि क्षति पुगेको बताए । उनले कोषबाट (कोभिड-१९) प्रभावित परिवारलाई थोरै भए पनि राहत मिल्ने बताए । कोषका ब्राण्ड एम्बासडर तथा कलाकार दीपकराज गिरीले पनि दुःखको बेलामा साथ दिने आइएमईको परम्परा स्मरण गर्दै यस्तो कार्यले संस्थालाई झनै मजबुद बनाउने बताए ।

कोषकै अर्को ब्राण्ड एम्बासडर एवं कलाकार दीपाश्री निरौलाले आइएमई दुःखमा मलम लगाउने सच्चा साथी भएको बताइन् । ‘परिवारको लालनपालनको लागि विदेश गएका सदस्य गुमाउनु पर्दा झनै पीडा हुन्छ, त्यो पीडालाई बुझेर आइएमईले स्थापना गरेको भरोसा कोष आफैंमा महत्वपूर्ण र समग्र निजी क्षेत्रको लागि अनुकरणीय परोपकारी कार्य हो ।’ उनले भनिन् ।
प्रकाशित समय १६:०५ बजे

















