गृहपृष्ठ भूकम्पले भत्केकामध्ये साढे पाँच लाखमात्र निजी आवास बने

भूकम्पले भत्केकामध्ये साढे पाँच लाखमात्र निजी आवास बने

Punarnirmaan_NewskKarobar फाइल तस्बिर

पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका ८ लाखमध्ये ५ लाख ५६ हजार ४८७ मात्र निजी आवास पुनःनिर्माण  सकिएकोछ।

पुनःनिर्माणका लागि ७लाख ९६ हजार २४५ लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ, तीमध्ये एक लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राही घर पुनःनिर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणले  आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पाँच वर्षे अवधि तोकेर गठन गरिएको प्राधिकरणले समयमा पुनर्निर्माणको काम नसकेपछि सरकारले हालेमात्र६

लाभग्राही सूचीमा रहेका भूकम्प पीडितले चालु आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

प्राधिकरण स्थापनाको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गर्दा ६ लाख ३४ हजार ९७३ गुनासो सम्बोधन गरिएको छ । गुनासो सम्बोधनबाट एक लाख ६ हजार ४६५ पुनःनिर्माण लाभग्राही कायम भएका प्राधिकरणले बताएको छ।

गुनासो सम्बोधनबाट प्रबलीकरण लाभग्राही सूचीमा समावेश हुनेको संख्य ६७ हजार ६८१ रहेको छ । प्राधिकरणले गरेको गुनासो सुनुवाइमा चित्त नबुझ्नेले सम्बन्धित जिल्ला तहमै उजुरी दर्ता गर्न सक्ने व्यवस्था छ । यसरी दर्ता गरिएका गुनासो उच्च अदालतका न्यायधीशको अध्यक्षतामा रहेको पुनरावेदन समितिले निर्णय गर्ने व्यवस्था भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी ऐन २०७२ मा छ ।

जोखिम वर्गका २४२ घर पुनःनिर्माण

जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर तोकिएको समयमा पुनःनिर्माण गर्न ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक अति प्रभावित १४ जिल्लामा खटाइएको छ । यसरी खटाइएका जनशक्तिको सहयोगमा जोखिम वर्गका २४२ घर पुनःनिर्माण सम्पन्न भएको छ ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजार २५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । ११ हजार ४३७ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिइएको छ । एक हजार ३५१ लाभग्राहीलाई जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।

५० एकीकृत बस्ती पुनःनिर्माण

निर्माणधीन १३० एकीकृत बस्तीमध्ये ५० वटाको पुनःनिर्माण सम्पन्न भएको छ । अरु एकीकृत बस्ती पुनःनिर्माण भइरहेको जनाइएको छ । हालसम्म कायम भएका पुनःनिर्माण लाभग्राहीले मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्म पहिलो किस्ता लिइसक्नुपर्ने समयसीमा प्राधिकरणले तोकेको छ ।

पहिलो किस्ता लिएका लाभग्राहीले जग निर्माण सम्पन्न गरी माघ मसान्तसम्म दोस्रो किस्ताका लागि सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने समयसीमा छ । पुनःनिर्माण र प्रबलीकरण लाभग्राहीले सम्पूर्ण पुनःनिर्माण सम्पन्न गरी २०७८ वैशाख मसान्तसम्म निवेदन पेश गरिसक्नुपर्ने छ ।

भूकम्प प्रभावित ४६५ सम्पदा पुनःनिर्माण

भूकम्पले क्षतिग्रस्त ९२० सम्पदामध्ये ४६५ को पुनःनिर्माण सम्पन्न भएको छ । भत्किएका सात हजार ५५३ विद्यालयमध्ये छ हजार ८५ अर्थात् ८१ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४६८ विद्यालय पुनःनिर्माणको क्रममा रहेको छ । बनाउनुपर्ने एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ ।

बाँकी स्वास्थ्य संस्था चालु आवमै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । भत्किएका ४१५ सरकारी भवनमध्ये ३७४ अर्थात् ९० प्रतिशतको काम सम्पन्न भएको छ । ३८ सरकारी भवन पुनःनिर्माणको चरणमा रहेको जनाइएको छ । प्राधिकरण अन्तर्गत पुनःनिर्माण भइरहेका सुरक्षा निकायका २१६ संरचनामध्ये २१४ को पुनःनिर्माण सम्पन्न भएको छ । दुई वटा सुरक्षा निकायका भवन पुनःनिर्माणको चरणमा रहेको छ ।

भूकम्प प्रभावित २९४ गुम्बा मर्मत

क्षति भएको एक हजार ३२० गुम्बामध्ये ८९५ को पुनःनिर्माण गर्नुपर्नेछ । ४०२ गुम्बा मर्मत गर्नुपर्ने जनाइएको छ । २९४ को मर्मत सम्पन्न भएको छ । हाल १०८ को मर्मत भइरहेको छ । सय वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ गुम्बामध्ये ३६ वटाको पुनःनिर्माण अघि बढेको छ । त्योभन्दा सानो आकारका ६२१ गुम्बामध्ये १०१ को पुनःनिर्माण अघि बढेको छ ।

प्रभावित जिल्लाका ४४३ किमी सडक पुनःनिर्माण

भूकम्प प्रभावित जिल्लामा बनाउनुपर्ने ७६२ किमी सडकमध्ये ४४३ किमीको काम सम्पन्न भएको छ । ३१९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ । खानेपानी विभाग मार्फत् हजार वटा खानेपानी योजना सम्पन्न भएका छन् ।

कार्यक्रममा प्राधिकरणका सचिव सुरेश आचार्यले माघ महिनामै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सर्ने गरी पूर्वी भागको प्रबलीकरण भइरहेको जानकारी दिए ।  (रासस)

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु