गृहपृष्ठ मदिराले बदनाम आफर गाउँलाई महिलाहरुले बनाए ‘नमुना गाउँ’
मदिराले बदनाम आफर गाउँलाई महिलाहरुले बनाए ‘नमुना गाउँ’
वीरेन्द्रनगर- १३, आफर गाउँका महिलाहरुले बारीमा उत्पादन भएको अन्नबाट घरेलु मदिरा बनाई बेच्थे । गाउँमा मदिरा उत्पादन हुने र खानको लागि बाहिरबाट मानिसहरु आउने गर्नाले दैनिक झै-झगडासमेत हुन्थ्यो । धेरै बालबालिकाहरु विद्यालय बाहिर थिए । गाउँमा रहेका ६० घरमध्ये करिब ७५ प्रतिशत दलित बस्तीको बसोबास रहेको आफर गाउँका स्थानीयलाई राज्यले दिने सेवा सुविधाबारे समेत थाहा थिएन । केही शिक्षित व्यक्तिहरुले मात्रै त्यसको फाइदा लिन्थे ।
मुख्य पेशा नै मदिरा उत्पादन र बिक्री भएपछि गाउँमै उक्त मदिरा खपत हुन्थ्यो र धेरै महिलाहरु घरेलुहिंसाका सिकार भएका थिए । सरसफाईमा समेत खासै ध्यान कसैको जाँदैनथ्यो । तर अहिले उक्त गाउँ ‘नमुना गाउँ’ भएको छ । गाउँका सबै महिला हिंसामुक्त भएका छन् । सबै बालबालिका विद्यालय गएका छन् । सबैको घरमा रोजगारी सिर्जना भएको छ । गाउँ नै बालविवाहमुक्त भएको छ ।
२०७२ सालमा स्थानीय किशोरी संवादका बालिका र महिला समूहका केही अगुवाको छलफलबाट उक्त गाउँ नमुना बन्न सफल भएको आफर होम स्टेकी सचिव रचना बाँठाले जानकारी दिइन् । समाज जागरण केन्द्र स्याक नेपालद्वारा सञ्चालित किशोरी संवादमा गाउँको समस्याबारे आमा संवाद हुँदा केही सूचकहरु निर्माण गरी गाउँ नै नमुना निर्माण गर्ने योजना बनेको उनले बताइन् । ‘हामीले गाउँ भेलाबाटै नमुना गाउँको घोषणा गरेका हौं । गाउँका सबै महिलाहरुको काम विभाजन गरिएको छ,’ उनले भनिन् ।

गाउँलाई नुमना बनाउनको लागि नौ वटा सूचक र ७० वटा उपसूचकसमेत निर्धारण गरेको बाँठाले बताइन् । उनका अनुसार गाउँका ६० घरमध्ये १६ वटा घरमा होम स्टे, सातवटा घरमा तरकारी खेती, २२ वटा घरमा बाख्रा पालन, १३ वटा घरमा लोकल कुखुरा पालन, एक घरमा कोसेली गृह, एक घरमा तामा र काँसको पुरानो भाँडा व्यवसायिक रुपमा निर्माण गर्ने गरिएको छ । गाउँमा शिक्षा, स्वास्थ्य, आर्थिक उपार्जन, गाँजा तथा घरेलुमदिरा निषेध लगायतका सूचकहरु निर्धारण गरिएको छ ।
गाउँ प्रवेश गर्दा नै मन खुशी हुने वातावरण छ । सबै घरमा शौचालय, भाँडा राख्ने चाङ, कुहिने र नकुहिने फोहोर फाल्ने खाँडल अनि सबैको आ-आफ्नै व्यवसाय । सबै कामका व्यस्त देखिन्छन् । गाउँभित्र कसैले पनि फोहोर गर्न र फाल्न पाउँदैनन् । गाउँ नै शान्त छ । वीरेन्द्रनगर नगरपालिकादेखि करिब ८ किलोमिटर उत्तर-पूर्वमा रहेको आफर गाउँको किशोरी संवादकी ज्योती विकले गाउँ नै नमुना भएपछि आफू पनि सुरक्षित भएको महसुस हुने गरेको बताइन् । ‘पहिले जताततै फोहोर फाल्ने र मदिरा खाएर होहल्ला गर्ने गरिन्थ्यो,’ उनले भनिन्, ‘अहिले गाउँमा कुनै पनि अशान्तिका क्रियाकलाप हुँदैनन् ।’ नमुना गाउँ घोषणा गर्दा निर्माण गरिएका सूचकभन्दा बाहिर गएर कसैले काम गरेको खण्डमा स्थानीय महिलाहरुले नै समस्या समाधान गर्ने उनले सुनाइन् ।

स्थानीय लालबहादुर सुनारले महिलाहरुको नेतृत्वमा गाउँ नै नमुना भएपछि आफूलाई खुशी लागेको बताए । ‘हाम्रै दिदी, भाउजुहरुले यस्तो कामको सुरुवात गर्नुभएको छ । गाउँमा घरेलु मदिरा उत्पादन हुने भएपछि बजार क्षेत्रबाट आएरसमेत गाउँमा होहल्ला हुन्थ्यो । तर अहिले त्यस्तो छैन,’ उनले भने । अहिले गाउँ नै शान्त हुनुका साथै सबै घरमा रोजगारी सिर्जना भएको उनले बताए ।
गाउँको उत्पादन स्थानीय होम स्टेमा नै खपत हुने गरेको होम स्टेकी उपाअध्यक्ष लक्ष्मी बाँठाले बताइन् । ‘हामी १६ जना मिलेर हो स्टे सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘गाउँमा उत्पादन भएका सबै चिजहरु होमस्टेमा नै खपत हुन्छन् ।’ उनका अनुसार होमस्टेमा लोकल कुखुरा, सिस्तो आँटो, ढिँडो, गुन्द्रुक र अचार तथा बिषादीरहित अर्गानिक तरकारीसमेत पाइन्छ । मदिरा नपाउने भएपछि दैनिक आउने पाहुनाभन्दा प्योकजका तालिमहरु बढी सञ्चालन हुने गरेको सुनाइन् । उनले आफरलाई नमुना गाउँ घोषणा गरेपछि धेरै महिलाहरु रोजगारीमा लागेको बताइन् । 
प्रकाशित समय ११:०० बजे

















