गृहपृष्ठ लकडाउनपछि सक्रिय हुन थाले चोर, ४५ दिनमै हराए ३०० मोटरसाइकल

लकडाउनपछि सक्रिय हुन थाले चोर, ४५ दिनमै हराए ३०० मोटरसाइकल

कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा सुतेर बसेका मोटरसाइकल चोरहरू मानिसको चहलपहल बढेसँगै सक्रिय हुन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार मंसिरयताका ४५ दिनमा ३ सयवटा मोटरसाइकल हराएका छन् ।

मंसिरमा २१५ वटा र पुसका १५ दिनमा ८५ मोटरसाइकल हराएको उजुरी महाशाखामा परेको छ । हालसम्म तीमध्ये ७९ वटा मोटरसाइकल फेलापरेको महाशाखाले जनाएको छ । मंसिरमा ४५ वटा र पुसका १५ दिनमा ३४ वटा मोटरसाइकल फेलापरेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । डेढ महिनामा २७ जना मोटरसाइकल चोरलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

उपत्यकाबाट चोरी हुने मोटरसाइकल काठमाडौँबाहिर र काँठ क्षेत्रमा प्रहरीको पहुँच नपुग्ने ठाउँमा पुर्‍याउने गरिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । ‘धेरैजसो काठमाडौँबाहिर लैजाने, कतिपय मोडिफाइ गर्ने, नम्बर परिवर्तन गर्ने, वर्कसपमा लगेर सामान छुट्याएर बेच्ने गरिएको पाइन्छ,’ एसपी अधिकारी भन्छन्, ‘मोटरसाइकल धनीले उजुरी गर्नासाथ खोजी अघि बढाउँदा पनि धेरैजसो भेटिँदैनन् ।’

काठमाडौँमा बढी भीड हुने स्थानबाट मोटरसाइकल हराउने गरेका छन् । मोटरसाइकल चोरहरू समूहमा आएर चोर्ने गरेको प्रहरी बताउँछ । बढी भीड हुने स्थानमा पार्किङ गरिएका मोटरसाइकल धनीलाई एक जनाले पछ्याउने र अरुले चाबी तोडेर लैजाने गरेको पाइएको प्रवक्ता अधिकारीले जानकारी दिए । ‘मोटरसाइकल चोरहरु पेसेवर नै हुन्छन्, समूहमा रहेर चोर्छन्,’ उनी भन्छन्, ‘चार–पाँच वर्ष थुनिन्छन्, छुटेर आएर त्यही गर्छन् ।’ दोहोरिएर धेरै चोर पक्राउ पर्ने गरेको उनले बताए ।

जिल्ला अदालत अगाडिबाटै हराउँछन्

काठमाडौँ जिल्ला अदालत अगाडिबाटै नियमितजसो मोटरसाइकल हराउने गरेका छन् । पार्किङ अभावमा फुटपाथमा मोटरसाइकल राखेर न्याय माग्न भित्र जानेहरू फर्किंदा थप पीडित भइसक्छन् । दैनिक हजारौँ सेवाग्राही पुग्ने जिल्ला अदालतमा पार्किङ सुविधा छैन । अदालतले सेवाग्राहीका लागि पार्किङको व्यवस्था नगर्दा काठमाडौँ महानगरपालिकाले सडककै पार्किङलाई वैधानिकता दिइरहेको छ ।

पार्किङ नभएकै कारण अदालत अगाडिबाट मोटरसाइकल हराउने गरेको सडकमा भेटिएका ट्राफिक प्रहरीहरू बताउँछन् । ‘पार्किङ छैन, यहाँ आउने सेवाग्राही जथाभावी राख्न बाध्य छन्,’ अदालतअगाडि भेटिएका एक ट्राफिक प्रहरीले भने, ‘कतिपय चोरलाई त हामीले रंगेहात पक्राउ गरेका पनि छौँ तर मोटरसाइकल हराउन छाडेका छैनन् ।’ फुटपाथमा जथाभावी पार्किङ भएकाले ‘को चोर को सवारी धनी’ चिन्न पनि नसकिने उनले बताए । व्यवस्थित पार्किङ भएको ठाउँमा चोरीको सम्भावना कम हुने उनको अनुभव छ ।

बिहीबार पक्राउ परे ५ जना

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले बुधबार पाँच जनालाई पक्राउ गरेको छ । तार्केश्‍वर ६ धर्मस्थलीबाट एक र काठमाडौँ १६ म्हैपीबाट चार जनालाई पक्राउ गरिएको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी छ ।

नुवाकोटको काउले गाउँपालिका ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ का रमेश तामाङलाई प्रदेश ३-०२,०१६ प ३८०४ नम्बरको रातो रंगको २०० सीसीको पल्सर मोटरसाइकलसहित धर्मस्थलीबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेका तामाङलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।

त्यस्तै, नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ५ घर भई हाल काठमाडौँको झोर बस्ने वर्ष २२ का किरण लामा, सोही वडा घर भई गणेशस्थान बस्ने वर्ष २१ का क्षीतिज तामाङ, नुवाकोटकै सूर्यगडी गाउँपालिका १ घर भई मनमैजु बस्ने वर्ष २३ का दीपक तामाङ र बाराको करैया गाउँपालिका ४ घर भई हाल तार्केश्‍वर नगरपालिका १० बस्ने वर्ष २३ का गंगा चौधरी पक्राउ परेको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रदेश ३-०२-०१५ प ३६०४ नम्बरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पक्राउ परकोमा उक्त मोटरसाइकलको वास्तविक नम्बर बा. ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । सो मोटरसाइकल असार २१ गते तार्केश्‍वर ५ गोल्ढुंगाबाट हराएको थियो । पक्राउ परका चारै जनालाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाका प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु