गृहपृष्ठ प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि अन्तिम सुनुवाइ सुरू हुँदै
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि अन्तिम सुनुवाइ सुरू हुँदै
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसविरूद्ध सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट परेका छन् । ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आदेश दिएका थिए ।
गत पुस १० गते प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो । अन्तिम सुनुवाई सुरू गर्नुअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग लिखित जवाफ मागेको थियो । सम्बन्धित पक्षबाट जवाफ र आवश्यक कागजात प्राप्त भइसकेको सर्वोच्चले जनाएको छ ।
रिटमाथि आजबाट सुनुवाइ हुने भए पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले आदेश आउन करिब एक महिना लाग्नसक्ने सर्वोच्चले जनाएको छ । यो मुद्दामा सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन भइसकेको छ ।
प्रकाशित समय ०९:०० बजे

















