गृहपृष्ठ पुरानो धारमा फर्कियो बागमती

पुरानो धारमा फर्कियो बागमती

फाइल तस्विर

५० वर्षपछि बागमती नदीको मुहानस्थलको करीब सात किमी भागलाई २०२१ सालको नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ ।

सुन्दरीजलबाट गोकर्णसम्मको करीब सात किमी नदीलाई नापीअनुसारको बहाव क्षेत्रमा फर्काउँदा सयौँ मानिसले वर्षौंदेखि हराएको जमीन पाएका छन् । पचास वर्षपछि नदी पुरानै धारमा फर्काइँदा स्थानीयवासीले एक हजार १०० रोपनी जग्गा पाएको यसको नेतृत्व गरेका अभियानकर्मी केशवप्रसाद पुडासैनीले बताए ।

बागमतीलाई पुरानै धारमा फर्काउने अभियानको नेतृत्व गर्दा एक महिना तीन दिनसम्म असहमत पक्षले धम्की दिएको उनले बताए । बागमतीलाई पुरानै धारमा फर्काउन २०६६ पुस १९ गते सम्झौता भएको थियो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका तत्कालीन अध्यक्ष महेशबहादुर बस्नेत र नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयका तत्कालीन प्रमुख उपरथी नरेशबहादुर बस्नेतबीच सम्झौता भई मुहान क्षेत्रको बागमतीलाई २०२१ सालमा भएको नापीको बहाव क्षेत्रमा फर्काउने अभियान सुरु भएको हो ।

सम्झौतापछि स्थानीय राजनीतिक दलका नेता कार्यकर्तासँग समेत २०६६ चैत ६ गते सहमति गरी त्यसको भोलिपल्टदेखि काम सुरु गर्न लागिएको थियो । चैत ७ गते पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएपछि चैत ९ गतेदेखि मात्र काम सुरु भएको थियो । बहाव क्षेत्र परिवर्तन गर्दै हिँडेको नदीले बागमती फाँटका सात हजार रोपनी जग्गा खान्छ भन्ने किसानलाई डर थियो । पुरानो बहाव क्षेत्रमा फर्काएपछि किसानले गरिखाने ठाउँ जोगिएकामा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु