गृहपृष्ठ नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा पक्राउ
नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा पक्राउ
सक्कली भनी नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा ललितपुर गोदावारी बस्ने धादिङ थाक्रे गाउँपालिका-११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा (सुनार)लाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू समेत प्रहरीले बरामद गरेको छ । अनुसन्धानको क्रममा सापकोटाले असोज ६ गते चन्द्रागिरी नगरपालिका- ७ थानकोट चेकपोष्टस्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने ब्रास्लेटलाई सुन हो भनी बन्दकी राखी नगद १ लाख ८० हजार रुपैयाँ ठगी गरेको तथा पुस १७ गते चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारास्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने बालालाई सुन हो भनि बन्दकी राखी नगद २ लाख ८० हजार रुपैयाँ ठगी गरी फरार भएको खुल्न आएको हो ।
सापकोटा उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
प्रकाशित समय १७:१७ बजे

















