गृहपृष्ठ हट्दै क्वारेन्टिन, हराउँदै कोरोनाको त्रास
हट्दै क्वारेन्टिन, हराउँदै कोरोनाको त्रास
कर्णाली प्रदेशमा क्वारेन्टिनहरु हट्दै गएका छन् । कोरोना भाइरस (कोभिड- १९)का संक्रमितहरुको संख्या घट्दै गएपछि क्वारेन्टिनहरु समेत हटाउन थालिएको हो । प्रदेशका केही जिल्ला तथा स्थानीय तहहरुमा क्वारेन्टिनहरु हटाउने क्रममा रहे पनि प्राय सबै क्वारेन्टिनहरु हटाइँदै गएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका कोरोना फोकल पर्सन श्याम आचार्यले जानकारी दिए ।
उनका अनुसार सरकारले नै होमआइसोलेसनको अवधारणा ल्याएको कारण बिस्तारै क्वारेन्टिनहरु हटाइएको हो । ‘कर्णाली प्रदेशमा प्राय विद्यालयका भवनलाई क्वारेन्टिन बनाइएको थियो । पछिल्लो समय विद्यालयहरु समेत सञ्चालन हुन थालेपछि क्वारेन्टिन हटाइएको हो,’ उनले भने । प्रदेशभर गत असोज ६ गतेसम्म ३ सय ५६ वटा क्वारेन्टिन रहेको उनले बताए । जसमा २३ हजार ३६ बेड रहेका थिए । हाल प्रदेशभर ४८ वटा क्वारेन्टिन र एक हजार ९ सय ३४ बेड रहेको आचार्यले बताए । प्रदेशभर आइशोलेशनको संख्या भने जम्मा २१ वटा रहेको उनले बताए । जसमा १ हजार ३८ बेड रहेका छन् । आचार्यले क्वारेन्टिनसँगै आइसोलसनमा समेत बिरामीका चाप घटेको बताए ।
कोरोना भाइरसको संक्रमण देशका अन्य ६ प्रदेशमा फैलिसक्दा समेत कर्णालीमा संक्रमण देखिएको थिएन । रोजगारीको सिलसिलामा भारत लगाएत तेस्रो मुलुकमा गएका नागरिक फर्किएसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमण देखिन थालेको थियो । सुरुमा भारतलगायत बाहिरबाट आएका नागरिकलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न सरकारलाई हम्म-हम्मे परेको थियो । उनीहरुको आरटी-पीसीआर परीक्षण गरी संक्रमण देखिएपछि अस्पतालमा समेत व्यवस्थापन गर्न सरकारलाई अप्ठ्यारो परे पनि अहिले परिस्थिति सहज भएको छ । प्रदेशका विभिन्न जिल्लामा निर्माण गरिएका क्वारेन्टिनहरु रित्तिएका छन् र आइसोलेसनहरुमा बिरामीका चाप घटेको छ ।
जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निरञ्जन पन्तले दैलेख जिल्लाभर कुनै पनि स्थानीय तहहरुमा क्वारेन्टिन नभएको जानकारी दिए । ‘दैलेखमा कोरोना नियन्त्रण भइसक्यो । अहिले अस्पतालको आइसोलेसनमा एकजना पनि संक्रमित छैन,’ डा. पन्तले भने । दैलेख जिल्लाभर होमआइसोलेसनमा भने पाँच जना सक्रिय कोरोना संक्रमित रहेको उनले जानकारी दिए । बाहिरबाट आउने नागरिकहरु समेत कोरोना नियन्त्रण भएसँगै पुन रोजगारीका लागि बाहिर जाने क्रम बढेको उनले बताए ।
त्यस्तै जुम्लामा समेत कुनै पनि स्थानीय तहमा क्वारेन्टिन नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले बताए । ‘प्रतिष्ठानको आइसोलेसनमा एकजना मात्रै कोरोना संक्रमित छ । पछिल्लो समय कोरोनाको त्रास घट्दै गएको छ,’ उनले भने । नेपाल सरकारको निर्देशनअनुसार नै कोरोना भाइरसका संक्रमितहरु होम आइसोलेसनमा बस्दै आएको डा. रावलले बताए ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले समेत सुर्खेत जिल्लाका कुनै पनि स्थानीय तहमा क्वारेन्टिनहरु नभएको जानकारी दिए । ‘धेरै जिल्लाका नागरिकहरु सुर्खेतमै बस्नुहुन्छ,’ उनले भने, ‘तर पनि कोरोना भाइरसका संक्रमितहरु घटेसँगै क्वारेन्टिनहरु समेत हट्दै गएका छन् ।’ सुर्खेत जिल्लाभर ६३ जना सक्रिय कोरोना संक्रमित रहे पनि अस्पतालमा भने जम्मा ८ जना संक्रमित रहेको उनले बताए । ‘प्रदेश अस्पताल सुर्खेतमा सिरियस बिरामी मात्रै आउँछन् । प्राय होम आइसोलेसनमा नै बस्ने गरेका छन्,’ उनले भने । वाग्लेका अनुसार सुर्खेत जिल्लाभर दुई सुरक्षाकर्मी सहित ५४ जना कोरोनाका सक्रिय संक्रमित अस्पतालबाहिर (होम आइसोलेसनमा) रहेका छन् ।
पछिल्लो समय दैनिकजसो थोरै मात्र कोरोना संक्रमितहरु फेला पर्ने गरेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । होमआइसोलेनसमा बसेका संक्रमितहरुलाई सीआइसीटी टिमले निरन्तर निगरानी गर्ने गरेको उनले बताए । संक्रमित देशबाट प्रवेश गर्ने नागरिकहरुको संख्यासमेत कर्णालीमा घटेको छ । कोरोनाको जोखिम न्यून भए पनि कोरोना प्रतिकार्यका लागि सरकारले गर्ने प्रयाससमेत फेरिएको हो । पछिल्लो समय नेपाल सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई घरमै बस्न सुझाव दिएको छ ।
प्रकाशित समय १५:२२ बजे

















