गृहपृष्ठ विशेष क्यामेराजडित ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन
विशेष क्यामेराजडित ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी गरी कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन गरेको छ । उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सीसीटीभी क्यामेराले करिब २ सय मिटरसम्मको दृश्यलाइ कैद गर्न सक्ने जानकारी दिए । पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लंघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उनले बताए ।
भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरेको छ । यसले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाणसहित कारबाही गर्न र थप सचेतना जगाउन सहयोगी हुने महाशाखाको अपेक्षा छ ।

उक्त कार्यक्रममा ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई एसएसपी भट्टराईले पुरस्कृत र सम्मान गरेका थिए । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरी कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित समय १६:३७ बजे

















