गृहपृष्ठ शाहवंशीय राजाहरुले राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी दर्साएका छन् : पूर्वराजा शाह
शाहवंशीय राजाहरुले राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी दर्साएका छन् : पूर्वराजा शाह
‘हामीले व्यहोरेको राजनीति कति इमानदार, राष्ट्रकेन्द्रित र जनहित अनुकूल छ ?'
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेकाे राजनीतिमाथि समीक्षा गर्न ढिला भइसकेकाे बताएका छन् । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काएर अरुको इच्छा पूरा गर्ने अवाञ्छित काम भइरहेको बताएका हुन् ।
‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जिवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ । त्यो समय केवल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन । दैविक आशिर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो,’ ज्ञानेन्द्रद्वारा जारी वक्तव्यमा भनिएको छ ।
उनले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गरेका छन् । त्यसैअनुसार शाह वंशीय परम्परा अगाडि बढेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिमा मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी पनि दर्साएका छन् ।’
‘हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रित छ ? कति जनहित अनुकूल छ ? त्यसको समीक्षा हुन अब विलम्ब भइसकेको छ’, उनले भनेका छन्, ‘परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया ईच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आमनेपालीले गर्नुपरेको छ ।’ राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकता बलियो बनाउनुपर्ने भन्दै यसको अपरिहार्यता भविष्यमा समेत हुने र पृथ्वी जयन्तीको सार्थकता त्यसैमा रहने उनको भनाइ छ ।
प्रकाशित समय १८:२९ बजे

















