गृहपृष्ठ माघे संक्रान्ति : विभिन्न नाम, चहलपहल र रौनक उस्तै

माघे संक्रान्ति : विभिन्न नाम, चहलपहल र रौनक उस्तै

माघे संक्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घीउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वमा भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीले आज पूजा एवं दर्शन गरेका छन् । यी मन्दिरहरुमा रहेका देवताहरुको शरीरमा घीउ र चाकु लगाइ दिने गरिन्छ ।

गर्भवती महिलाले प्रसादका रुपमा यी नारायण देवताको नाइटोमाथिको घीउ, चाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको घीउ चाकु खाए छोरी लाभ हुने जनविश्वास छ । घीउ, चाकु सल्हुँको दिन आज भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । हरेक वर्ष माघे संक्रान्तिका दिन यी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । बिहान नुहाइधुवाई गरी जीउमा तेल घसेर घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने र हष्टपुष्ट हुने धार्मिक मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्ने जनविश्वास छ ।

यसैगरी आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पूजारी उत्तमाङराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाइ पूजा गरेर माघे संक्रान्ति मनाइने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

हेटौंडामा एक महिने मकर मेला

मकवानपुरको हेटौँडामा आजदेखि एक महिने मकर मेला सुरु भएको छ । यहाँको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित हेटौँडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक वर्ष माघे संक्रान्तीबाट मेला सुरु हुन्छ । हेटौँडा उपमहानगरपालिका–९ स्थित त्रिवेणीधाममा लाग्ने मकर मेलामा जिल्लाभित्र र नजिकैका जिल्लाबाट श्रद्धालु भक्तजन पूजा गर्न आउने गर्दछन् । २०६६ सालबाट सुरु भएको यो मेला पछिल्ला वर्षमा निकै लोकप्रिय बन्दै गइरहेको छ ।

कर्रा, राप्ती र कुलेखानीखोला अर्थात तीन नदीको संगमस्थल त्रिवेणीधाममा लाग्ने मेलामा यस वर्ष एक महिनासम्म देवीभागवत् कथा प्रवचन हुने कुष्माण्ड सरोवर त्रिवेणीधाम क्षेत्र विकास समितिले जनाएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै यस वर्ष अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर (माक्स र सेनिटाइजरको प्रयोग गरी) मात्र भक्तजनलाई मन्दिरभित्र प्रवेश गराइने बताइएको छ ।

किम्बदन्ती अनुसार माघ १ सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले मकर मेला मनाउन थालिएको हो । मकर मेला माघ महिनाभर लाग्ने मेला हो । पौराणिक मान्यताअनुसार रत्नावती राप्ती, कर्णावती कर्रा र कौशबाही कुखरेनी नदीको संगमस्थललाई स्कन्दपुराणमा नवदुर्गामध्येकी कुष्माण्ड भगवतीको सिद्धिक्षेत्र तथा क्रिडास्थलका रूपमा वर्णन गरिएकाले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्व रहेको छ । साढे सात बिघा जमिनमा फैलिएको धार्मिकस्थलमा कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, १०८ गौमुखीधारा, कुष्माण्ड भगवतीबीचमा रहेको सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैँचा एवं मठमन्दिर छन् । साथै सरोवरको मध्यभागमा स्थित कुष्माण्ड भगवतीको पूजा गर्न दुई वटा डुंगा सञ्चालन भएपछि यस क्षेत्रको आकर्षण झनै बढदै गएको छ ।

माघे संक्रान्ति र कुष्माण्ड नवमीका दिन नुहाएर कुभिण्डो दान गर्न यहाँ भीड लाग्ने गर्दछ । त्रिवेणीधामको रूपमा परिचित यो धार्मिक क्षेत्रमा गौमुखीधारामा नुहाउन, कुष्माण्ड सरोवरमा डुंगा चढ्न र पूजाआजासहित अवलोकन गर्न आउने विश्वास लिइएको छ । मेलामा एक महिनासम्म निरन्तर दिउँसोको समयमा हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकाको कलाकारहरुले संगीतमय भजन प्रस्तुति गरिने छ । कुशको जराबाट उत्पति भएर उत्तरतिर बगिरहेको कैशावाही नदी, नवदुर्गाको चौथोस्वरुप कुष्माण्ड भगवतीले तपस्या गरेर सिद्ध प्राप्त पुण्यभूमि यहाँको प्रमुख विशेषता हो ।

कटारी त्रिवेणीमा धार्मिक मेला सुरु

उदयपुरको कटारीस्थित कमला नदीमा अवस्थित त्रिवेणी धाममा यसवर्ष पनि आजदेखि १५ दिने माघे संक्रान्ति मेला सुरु भएको छ । प्रदेश नं १ कै महत्वपूर्ण त्रिवेणी धार्मिकस्थलको रुपमा रहेको सो मेला कोभिड–१९ को जोखिमका कारण विगतका वर्षजस्तै विभिन्न तामझाम गरेर सञ्चालन नगरिएको कटारी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार यसपटक सञ्चालन गरिएको मेलामा विगतका वर्ष जस्तो विभिन्न सर्कस, पिङ, रमाइलो खेलकूद सञ्चालन नगरिएको तर दर्शन गर्न आउने भक्तजनका लागि खाना र नास्ताका सामान्य होटल स्थापना गरिएको छ । त्रिवेणीमा दर्शन गर्न र मकर नुहाउन तथा पूजा आरधना गर्नका लागि मात्र धार्मिक मेला सञ्चालन गरिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए ।

आज बिहानैदेखि स्थानीय कटारी, सिन्धुली क्षेत्रका झण्डै पाँच हजार भक्तजनले त्रिवेणी धाममा मकर नुहाएर पूजा तथा आरधना गरिसकेको मेला आयोजक समितिका सदस्य केदार धमलाले बताए । विगतका वर्षमा त्रिवेणी धाममा दर्शन गर्नका लागि प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, उदयपुर, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, प्रदेश नं ३ का मकवानपुर, सिन्धुली काभ्रेपलाञ्चोक, रामेछाप, काठमाडौँसहित भारतका पश्चिम बंगाललको दार्जिलिङ, सिक्किम र बिहार प्रदेशबाटसमेत ठूलो संख्यामा भक्तजन आउने गरेको मेला आयोजक समितिले जनाएको छ । विगतका वर्षमा यस मेलामा सात लाखदेखि दश लाखसम्म भक्तजन दर्शन गर्न आउने गरेको भएपनि यस वर्ष कोभिड–१९ जोखिमका कारण करीब पाँच लाख भक्तजन आउने अनुमान गरिएको समितिले जनाएको छ ।

बाँकेमा माघी मेलाको रौनक

माघी पर्वका अवसरमा बाँकेको थारु गाउँमा सञ्चालन भएका माघी मेलामा भक्तजनको उल्लेख्य सहभागिता रहेको राप्तीसोनारी गाउँपालिाकास्थित भुवरभवानी मेला व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम थारुले बताए । उनका अनुसार, राप्तीसोनारी गाउँपालिका–३ बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघीपर्वको अवसरमा लाग्ने माघी मेलामा बाँके जिल्लाका साथै छिमेकी जिल्ला र भारतबाटसमेत भक्तजन पुग्ने गरेका छन् । ‘भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके धार्मिक आस्थाको गन्तव्य बन्न सक्छ,’ संयोजक थारुले भने, ‘धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।’

२०१३ सालमा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै माघ १ गतेदेखि ३ गतेसम्म विशेष पूजाआजासहितका मेला लाग्ने गरेको छ । चार दिनसम्म चल्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गरेको मेलाका संरक्षक एवं वडा नं ३ का अध्यक्ष गंगाराम थारूले बताए ।

बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेनगरमा पनि माघीको अवसरमा बिहीबारदेखि दुई दिने माघी मेला आयोजना गरिएको छ । फत्तेनगर गाउँ समाज समितिको आयोजनामा भएको माघी मिलन मेलामा थारुहरुको पहिचान झल्कने वेषभूषा र साँस्कृतिक झाँकी प्रदर्शन हुने स्थानीय थारु अगुवा एवं पूर्व बडघर चन्द्रबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार, माघी पर्वको अवसरमा थारु गाउँमा हर्षेल्लासका साथ मनरोञ्जनसँगै विविध साँस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुगेको छ ।

सुनसान रिडी

कोभिड– १९ जोखिमका कारण गुल्मीको पवित्र धार्मिकस्थल रिडीमा यस वर्ष माघी मेला नहुँदा सुनसान भएको छ । माघे संक्रान्तिमा स्थानीय पालिका र क्लबको आयोजनामा वर्षौदेखि आयोजना गरिँदै आएको मेला यस पटक गाउँपालिकाले सञ्चालन नगर्ने निर्णय गरेको रुरक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विश्वकर्माले जानकारी दिए ।

धार्मिक क्षेत्र रिडिमा माघे संक्रान्तीको अवसरमा विगतका वर्षमा बिहानैदेखि कालीगण्डकीमा नुहाउन आउने श्रद्धालुको घुइँचो लाग्ने गर्दथ्यो । तर, यस पटक भने मेला नलाग्ने भएपछि कालीगण्डकी तटीय क्षेत्र सुनसान बनेको छ । विगतमा गण्डकीमा स्नान गर्नका लागि गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगमस्थल रिडि क्षेत्रको कालीगण्डकीमा माघे संक्रान्तीमा स्नान गर्न र पूजाआजाका लागि श्रद्धालुको घुइँचो लाग्ने गर्दथ्यो । चारधाममध्येको एक प्रमुख धाम मानिने रुरु क्षेत्रको कालीगण्डकीमा माघे संक्रान्तिका दिन स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसले आफूले अन्जानमा गरेका सम्पूर्ण पापबाट मुक्त भई मोक्ष प्राप्त हुने किंवदन्ती छ । विशेषगरी माघे संक्रान्तिका दिनमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा रिषि ऋणसमेत मुक्ति पाइने धार्मिक विश्वासका कारण हजारौं मानिस यस अवसरमा रिडि क्षेत्रधाममा आउने गर्छन् । गुल्मीमा माघे संक्रान्तिको अवसरमा पाँच दिनसम्म ठूलो मेलासमेत लाग्ने गर्दथ्यो ।

किराँत संवत् सुरुसँगै कक्फेक्वा तङनाम

किराँत समुदायले १ माघलाई नयाँ सम्वतको रुपमा लिँदै आएको छ । किराँत समुदायको (येले तङवे) ५०८१ आजदेखि सुरु भएको छ । झन्डै छ हजार वर्ष पहिला किराँती राजा यलम्बरले प्रचलनमा ल्याएको सम्वत् किराँती समुदायले हर्षोल्साससहित मनाउने गर्दछन् ।

किराँत लिम्बू समुदायले नयाँ वर्षसँगै कक्फेक्वा तङनामम (माघे सक्रान्ति) मनाउने गर्दछन् । यस तङनामको विशेषता आज एकदिन कन्दमूल मात्र खाने, जनकारहरू बताउँछन् । कक्फेक्वा तङनाममा बनतरुल, लावाखे, सिम्बोलखे, याक्खे र घरतरुल मात्र खाने प्रचलन छ । कुसङ येम अर्थात नयाँ समय सुरु भएको अर्थमा कुसङ तङवे सुरु भएको मान्यतामा कक्फेक्वा तङनाम मनाउने गरिन्छ । ‘कक्’ भन्नाले चाँप, ‘फेक्’ भन्नाले फुल्ने भन्ने अर्थ लाग्छ । चाँप फुल्न सुरु हुने भएकाले यसलाई कक्फेक्वा तङनाम भनिएको किराँत याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष भद्रकुमार बोखिमको भनाइ छ ।

चाडको रुपमा यस चाडलाई लिम्बू समुदायले मनाउँछन् । कक्फेक्वा तङनामको अवसरमा कन्दमूल मात्र खाने ऐतिहासिक महत्व छ । प्रत्येक माघ १ गते बिहान नुहाएर, अघिल्लो दिन वन तरुल, फलफूललगायत जंगली खानेकुरा ल्याइएको परिकारलाई वन देवता सामु चढाएर मात्र खाने प्रचलन छ । यस चाडमा वन तरुल टीकाको महत्वपूर्ण विशेषता छ । कक्फेक्वा तङनाममा वन तरुलको टीका अनिवार्य लगाइन्छ । जसका कारण जंगली देवता खुशी हुने मान्यता छ । यस चाडलाई विभिन्न नामले देशभर मनाउने गरिन्छ । तराईमा माघी, विभिन्न समुदायमा मकर संक्रान्ति, माघे संक्रान्ति भनि मनाउने गरिन्छ । कक्फेक्वा तङनामको अवसरमा प्रदेश र संघीय सरकारले एक दिने सार्वजनिक बिदा दिएको छ ।

कोरोनाले रोकिएन माघीको रौनक

कोरोना कहरकाबीच यतिबेला दाङदेखि पश्चिमी तराईको जिल्ला कञ्चनपुरसम्मका थारु बस्ती माघी पर्वमय भएका छन् । थारु समुदायको प्रमुख चाड माघीका अवसरमा परम्परागत नाचगानका साथै पूजापाठ र रमाइलो गरी थारु बस्तीमा माघी मनाइरहेका छन् । थारु समुदायले माघी पर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने प्रचलन रहिआएको छ ।

कञ्चनपुरको थारु बाहुल्य क्षेत्र बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले कोरोनाका कारण धेरै खुला कार्यक्रम नरहेको बताए । ‘माघीका अवसरमा आफूभन्दा ठूलाबडाबाट आर्शिवाद लिने, घरायसी खानपानको काम भइरहेको छ,’ उनले भने, ‘गाउँमा कोरोना देखिएकाले नाचगान र चहलपहल छैन ।’ उनले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर माघी मनाउने काम गाउँमा भइरहेको बताए ।

थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरपालिकामा विभिन्न बस्तीमा माघी मनाइरहेका छन् । ‘विगतका वर्षमा केही दिन पहिलेदेखि निरन्तर माघी मिलन कार्यक्रम हुन्थे,’ चौधरीले भने,’यस पटक कोरोनाका कारण सामान्य रुपमा मनाइदैछ ।’ वर्ष दिनमा थारु समुदायको सबै भन्दा विशेष रुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न मेला महोत्वसदेखि थारु बस्तीमा परम्परागत नृत्यले रमाइलो गरी मनाउने गर्थे ।

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुशीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

थारु समुदायको गीतमा भनिएझै थारु समुदायका बालबालिकादेखि पाका पुस्तासम्म माघीमा रमाउँछन् । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी यो पर्वमा थारु समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कूटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम गर्छन् ।

शुक्लाफाँटा नगरपालिका–५ का वडाध्यक्ष नरेन्द्र चौधरीले थारु बस्तीमा घरमै सामान्य रुपमा माघी मनाइरहेको बताए । ‘विगत वर्षको जस्तो नाचगान र रमाइलो छैन,’ उनले भने, ‘कोरोनाका कारण सामान्य रुपमा मनाइरहेका छन् ।’ उनले परम्परागत थारु समुदायको माघी पर्वलाई संरक्षण र सम्वद्र्धनका लागि राज्यको पनि लगानी आवश्यक रहेको बताए । ‘पर्यटकीय रुपले पनि माघी कार्यक्रम आर्कषकको केन्द्र बन्न सक्छ,’ उनले भने, ‘युवा पुस्ताले पनि यसलाई परम्परागत रुपमा मनाउँदै आएका छन् ।’

त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ । माघीको अघिल्लो रात सुंगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको उनले बताए । माघीको अघिल्लो दिन राति थारु समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बस्छन् ।

बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछन् ।
के बुढा के तन्नेरी सब एकै ठाउँ भेला,
वर्ष दिनको पसिनालाई आज सुकाएर,
मिठो खाने राम्रो लाउने, रहर फुकाएर,
बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड,
हाम्रो घर निकाखेर बटुलीमा माड,
कटौरीमा मासु अनि बटुकीमा जाड,
बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड,
आफूपनि खाइदे साथी अरुलाई नी बाड,
आज छैन कही चिसो चुलो धुवाँ उठ्यो धुर धुरमा,
हरसाल साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरुमा ।

माघीको दिन झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन छ । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मन्यतासमेत रहेको छ । (रासस)

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु