गृहपृष्ठ नम्बर परिवर्तन गरी चोरीको मोटरसाइकल चलाउने एकजना पक्राउ
नम्बर परिवर्तन गरी चोरीको मोटरसाइकल चलाउने एकजना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले वास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाइकल चलाउने १ जनालाई पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले शुक्रबार बालाजु बाईसधारास्थित सडक खण्डबाट नुवाकोटको तादी गाउँपालिका वडा नं. ६ बस्ने २८ वर्षीय अनिल तामाङलाई शुक्रबार पक्राउ गरेको हो ।
तामाङले वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा. ६५ प २३६६ नम्बर प्रयोग गरी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । काठमाडौं रामकोटस्थित सडक खण्डबाट बा. ६३ प २६६ नम्बरको रातो रङको पल्सर मोटरसाइकल हराएको भनी रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. १ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए । सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाइकल र मानिस पक्राउ गरिएको एसएसपी भट्टराईले बताए । पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
यस आर्थिक वर्ष ०७७/७८ मा चोरीमा संलग्न ३१ जना मानिस र १९ मोटरसाइकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
प्रकाशित समय १६:३९ बजे

















