गृहपृष्ठ अवैध लागूऔषधसहित १४ जना पक्राउ

अवैध लागूऔषधसहित १४ जना पक्राउ

बिभिन्न ठाउँबाट अबैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । कास्की, कञ्चनपुर, पर्सा, सिरहा, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पक्राउ परेका हुन् ।

कास्कीको पोखरा महानगरपालिका-१७ हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल नुर्फिन, नगद १८ हजार रुपैयाँ र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बर्दिया ठकुरद्वार नगरपालिका-८ घर भएका २९ वर्षीय मिन रानाभाट र बाँके कोहलपुर नगरपालिका-१७ घर भएका २७ वर्षीय बिशाल राना मगर रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले मिन रानाभाटको कोठाबाट उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरबाट ७० ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँमा होटल व्यवसाय गर्ने ४१ वर्षीय देबेन्द्र बहादुर कठायतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनको साथबाट उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । पर्सा वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट २३१ पीस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सोही महानगरपालिका-९ बस्ने १३ वर्षीय बालकलाई प्रहरीले मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा चेकिङमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी ती बालकलाई पक्राउ गरेको हो । साथै मकवानपुर बागमी गाउँपालिका-६ बस्ने २२ वर्षीय दिपक पोख्रेलले ती बालकलाई उक्त लागूऔषध बोक्न लगाएको खुल्न आएपछि दिपकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सिरहाको कर्जन्हा नगरपालिका-१० स्थित सूर्य सिमेन्ट फ्याक्ट्रीको कम्पाउण्डभित्र रहेको घरबाट ३ ग्राम ९५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तुसहित मिर्चैया नगरपालिका-७ बस्ने २६ वर्षीय दिलिप यादबलगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी लहान नगरपालिका-१० खुट्टी पुल नजिक सडकबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित लहान नगरपालिका-१८ भदैया बस्ने २५ वर्षीय विजयकुमार पासवान र कल्याणपुर नगरपालिका-११ कोरनियाही बस्ने १९ वर्षीय मोहमद ईबरानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

झापा दमक नगरपालिका-८ बालुवाटार डेरा गरी बस्ने गौरीगंज गाउँपालिका-७ घर भएका २४ वर्षीय बिनोद कुमार पौदार र १८ वर्षीय किशोरलाई २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नियन्त्रित लागूऔषध ३ बोतल कोरेक्स, १७ ट्याब्लेट नाइकाभेट र नगद ११ हजार रुपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ईटहरी उपमहानगरपालिका-१९ घर भएका २३ वर्षीय विकास बुढाथोकीलाई नियन्त्रित लागूऔषध १ सय क्याप्सुल स्पास्मो प्रोक्सभोन र ८० ट्याब्लेट नाइट्रोसन सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने् सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु