गृहपृष्ठ चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ
चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ
राजधानीबाट मोटरसाइकल चोरी गर्ने गिरोहहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरीको घटना बढेसँगै ट्राफिक प्रहरीले पनि विशेष अप्रेसन सञ्चालन गर्दै आइरहेको छ । सोही क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चावहिलबाट चोरी भएको बजाजको २२० सीसीको पल्सर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ५ लोलाङस्थित सडकखण्डबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ८७ प ८८३९ नम्वरको रातो कालो रङ्गको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
पक्राउ पर्नेमा जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका १, भोर्ले घर भई हाल तारकेश्वर – ५ लोलाङ बस्ने वर्ष ४१ को जित बहादुर तामाङ, जिल्ला रसुवा नौकुण्ड गाउँपालिका वडा नं. २ घर भई हाल गोकर्णेश्वर-२ नयाँपाटी बस्ने वर्ष ४२ को सोमान गंदान तामाङ, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल बौद्ध बस्ने वर्ष २८ को साङ्तेन तामाङ लामा रहेको महाशाखाले जनाएको छ ।
मोरङ जिल्ला घर भएका पृथ्वीमान लिम्बुले बा ८९ प २२८५ नम्वरको २२० सी.सी. को कालो रंङ्गको पल्सर मोटरसाइकल चाबाहिल मैजुबहालबाट हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए । हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र चोरीमा संलग्न तीन जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
यस आ.व.०७७/७८ मा चोरीको मोटरसाइकलसहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
प्रकाशित समय ०८:५४ बजे

















