गृहपृष्ठ पर्यटक प्रहरी दिवस : सबै पर्यटकप्रति समान व्यवहार हुनुपर्नेमा जोड
पर्यटक प्रहरी दिवस : सबै पर्यटकप्रति समान व्यवहार हुनुपर्नेमा जोड
प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा ‘४२औं पर्यटक प्रहरी दिवस, २०७७’ नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सोमबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । समारोहमा आइजीपी थापा क्षेत्रीले पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरुलाई सम्मानपत्र प्रदान गरे ।
उक्त अवसरमा आइजीपी थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण र सदव्यवहार हुनुपर्ने उल्लेख गरे । कतिपय तथ्यलाई आमबुझाइमा बुझिदियो भने त्यो उचित हुन्छ तर त्यही कुरालाई बौद्धिक दृष्टिकोणले हेरिदियो भने कहिलेकाहीँ बुझाइ फरक हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘सबै पर्यटकलाई ‘अतिथि देव भव:’अनुसार व्यवहार गर्नुपर्छ ।’
प्रहरीको मनोबललाई अझ उच्च बनाउनको लागि स्थानीय तहबाट सकारात्मक अपेक्षा तथा सुझावको आवश्यकता रहेको आइजीपी थापा क्षेत्रीले बताए । आगामी दिनमा पर्यटक प्रहरीलाई आवश्यकताअनुसार दक्ष बनाउँदै लैजाने उनले प्रतिवद्धता व्यक्त गरे । नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटनसँग आवद्ध सबै सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको चर्चा गर्दै पर्यटकीय स्थलहरुलाई कम प्रदूषित बनाउनको निम्ति चालिने कदमप्रति सबैको चासो हुनुपर्नेमा उनले जोड दिए ।

उक्त समारोहमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे । उक्त अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी, पर्यटनविद् डा. आलोक प्रसाई र टानका अध्यक्ष खुम बहादुर सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गरे ।

प्रकाशित समय १४:५८ बजे

















