गृहपृष्ठ उपत्यकाबाट ६ महिनामा ७ सय मोटरसाइकल चोरी, ११८ वटा मात्रै भेटिए, ३२ जना पक्राउ

उपत्यकाबाट ६ महिनामा ७ सय मोटरसाइकल चोरी, ११८ वटा मात्रै भेटिए, ३२ जना पक्राउ

हराएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाउँदै ट्राफिक प्रहरी । फाइल तस्बिर ।

काठमाडौँ उपत्यकाबाट ६ महिनामै ७ सयवटा मोटरसाइकल चोरी भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा ७ सय मोटरसाइकल हराएका हुन् ।

साउनदेखि पुससम्म हराएका ७ सयमध्ये ११८ वटा मोटरसाइकलमात्र भेटिएका छन् । मोटरसाइकल हराएको उजुरीपछि ट्राफिक महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खट्ने ट्राफिक प्रहरीको विशेष अपरेसन टोलीले ११८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

महाशाखाका अनुसार साउनमा ४१ वटा मोटरसाइकल हराएका छन्, जसमध्ये तीनवटा फेला परेका छन् । त्यस्तै भदौमा १८ वटा हराएकोमा कुनै फेला परेनन् । असोजमा १७६ वटा मोटरसाइकल हराए भने २२ वटा भेटिए । कातिकमा ११६ वटा हराएकोमा आठवटा, मंसिरमा १५१ वटा हराएकोमा ३० वटा र पुसमा १९८ वटा हराएकोमा ५५ वटा मोटरसाइकल भेटिएको महाशाखाले जनाएको छ । भेटिएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको छ ।

ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ । साउनमा तीन, कात्तिकमा दुई, मंसिरमा ११ र पुसमा १६ जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको हो ।

आर्थिक वर्ष ०७५/७६ मा उपत्यकाबाट १ हजार ७१० वटा मोटरसाइकल हराएकोमा २३२ वटामात्र फेलापरेका थिए भने चोरीमा संलग्न ८१ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको थियो ।

गत वर्ष चैतपछि कोभिड–१९ महामारीका कारण लकडाउन गरिँदा केही कम मोटरसाइकल हराएको पाइएको छ । गत वर्ष १ हजार ३७९ वटा मोटरसाइकल हराएका थिए भने चोरीमा संलग्न ३८ जनालाई महाशाखाले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको थियो ।

सवारी धनी सचेत हुनुपर्छ : ट्राफिक प्रहरी

मोटरसाइकल चोरी नियन्त्रणका लागि सवारी धनी नै बढी सचेत हुनुपर्ने ट्राफिक प्रहरी बताउँछन् । प्रहरी उपरीक्षक अधिकारीले चालककै लापर्बाहीका कारण बढी मोटरसाइकल हराएको पाइएको बताए । ‘जथाभावी पार्किङ गर्ने, पार्किङ गरी लामो समयसम्म अन्यत्रै जाने गर्दा चोरी गर्न सहज हुने गरेको पाइन्छ,’ उनी भन्छन्, ‘धेरै भीडभाडमा र एकान्तमा बढीजसो मोटरसाइकल हराउने गरेका छन् ।’

भीड चोर हो कि सवारी धनी हो थाहा नहुने भएकाले चोरहरू सक्रिय भएका हुन्छन् । मोटरसाइकल चोर्ने गिरोहले महँगो मोटरसाइकल सस्तोमा बेच्ने गरेको र कतिपयले पार्टपुर्जा फुकालेर बेच्ने गरेको पाइएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उपत्यकाबाट बढी जसो पल्सर मोटरसाइकल हराउने गरेका छन् । सस्तोमै बेचे पनि बढी फाइदा हुने भएकाले पल्सर मोटरसाइकल चोरी गर्ने गिरोहको निशानामा पर्ने गरेका हुन् । पल्सरका साथै डिओ स्कुटर, रोयल इन्फिल्डलगायतका मोटरसाइकल बढी चोरी हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु