गृहपृष्ठ निजी र साझेदारी फर्म दर्ता जिल्लाबाट

निजी र साझेदारी फर्म दर्ता जिल्लाबाट

बागमती प्रदेशभित्रका जिल्लाबाट आगामी फागुन १ गतेदेखि निजी तथा साझेदारी फर्म दर्ता हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बागमती प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयअन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय हुने जनाएको छ ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट निकासी पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य हुने विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।पहिलो चरणमा बागमती प्रदेशमा जिम्मेवारी हस्तान्तरण गरेको विभागले निकासी, पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशमा समेत प्रदेश कानुन तर्जुमा भएपश्चात् क्रमशः हस्तान्तरण गर्ने जनाएको छ ।

गत १७ गते मन्त्रिस्तरीय निर्णयबाट ‘वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना, २०७७’ को स्वीकृत भएको थियो । उक्त स्वीकृतिपछि बागमती प्रदेश सरकारलाई विभिन्न कार्ययोजना हस्तान्तरणको गरिएको उनले जानकारी दिए ।

पुराना फर्मको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाट नै सञ्चालन हुनेछ । बागमती प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापारमूलक (निकासी, पैठारीसँगसम्बन्धी) फर्मको सक्कल फाइलसहित २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भई विभागबाट नै नियमन हुनेछ ।

विभाग र फोन पेबीच सहकार्य

अनलाइनमार्फत सेवा प्रवाह गर्न विभागले भुक्तानी सेवा प्रदायक कम्पनी फोन पेसँग व्यावसायिक सहकार्य सम्झौता भएको छ । अनलाइनका माध्यमबाट व्यवसाय फर्म दर्तालगायत व्यवसाय नियमनसम्बन्धी सेवाको सहजीकरणका लागि दुई पक्षबीच आज सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात् फोन पेले डिजिटल भुक्तानी प्रक्रियाको प्रवर्द्धन गर्न व्यवसायीलाई निःशुल्क क्युआर कोड सुविधा उपलब्ध गराउने छ भने असार मसान्तसम्म एक लाख व्यवसायीलाई सेवा प्रवाह गर्न अनुमान गरिएको छ ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु