गृहपृष्ठ चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाई गर्ने

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाई गर्ने

चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । ‘चन्द्रागिरिले चालू आर्थिक वर्षका लागि सडक सरसफाइमा २० लाख रूपैयाँ रकम विनियोजन गरेको छ,’ नगरप्रमुख गिरिले भने ।

यस्तै, चन्द्रागिरिले राजमार्गको बीचभागमा सडक डिभाइडर, तारजाली राख्नका साथै त्यसमा इनामेल तथा रङरोगन गर्नका लागि ५० लाख रूपैयाँ विनियोजन गरेको छ । चन्द्रागिरिको थानकोट नाका हुँदै दैनिक एक लाखभन्दा बढी निजी तथा सार्वजनिक सवारी साधन उपत्यका प्रवेश गर्दै आएका छन् । उक्त नगरपालिकाले एक करोड रूपैयाँ लागतमा पिप्लामोड–नागढुंगा-कलंकी क्षेत्रमा सडक बत्तीसमेत राख्न लागेको छ । अहिले ५०० सडकबत्ती राख्ने योजना बनाएको सो नगरपालिकाले आगामी दिनमा २०० बत्ती थप गर्ने बताएको छ ।

यसैगरी, सो नगरपालिकाले राजमार्ग क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि दुई महिना पहिला नै सीसी क्यामरासमेत जडान गरिसकेको छ । उक्त नगरपालिकाले एक करोड रूपैयाँको लगानीमा ६८ वटा अत्याधुनिक सीसी क्यामरा जडान गरेको थियो । बागमती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिका १५ मध्ये ११ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । चन्द्रागिरि नगरपालिकामै एसियाली विकास बैँकको सहयोगमा नेपालकै पहिलो सुरुङ मार्गसमेत निर्माण हुन लागेको छ । जसको निर्माण कार्य धमाधम भइरहेको छ । (रासस)

प्रकाशित समय ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु