गृहपृष्ठ भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

बलात्कारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका सहभागी । फाइल तस्बिर ।

दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा मृत अवस्थामा फेलापरेकी थिइन् ।

चडेपानीका केशव भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शंकरदत्त भट्ट बताउँछन् । ‘विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले छोरीचेलीलाई विद्यालय पठाउनसमेत मुस्किल भएको छ,’ उनले भने ।

मृतक किशोरीका बुबाको दुई महिना अघि मृत्यु भएको थियो । दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । छोरी गुमाउँदा आमा द्रोपती व्याकुल छिन् । श्रीमान् बितेको पीडामै द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको छ ।

बीभत्स अवस्थामा फेलापरेकी भागरथीको बलात्कार गरी हत्या गरिएको आशंका आफन्तको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, यौनांगमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेलापरेपछि बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए । भागरथीको शव परीक्षण सम्पन्न भएकाले परीक्षणको रिपोर्ट एक‑दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

किशोरीको शव भने नबुझेको भागरथीका काका शिवराजले बताए । ‘अपराधी पत्ता लागेको छैन, आज शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ,’ उनले भने । किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिँड्डुल गर्नेलाई सोधपुछ गरिहेको छ । घटना शंकास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुन‑कुन सवारी साधन सञ्चालन भएका थिए ।

ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मोती बमले बताए । ‘किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ,’ उनले भने ।

घटनालाई गम्भीर रुपमा लिएकोले अनुसन्धानलाई पनि तीव्र बनाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालेको हो ।

घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाएको छ ।

धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकाले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ । (रासस)

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु