गृहपृष्ठ भारतीय बालुवा तस्करको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जवान घाइते

भारतीय बालुवा तस्करको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जवान घाइते

पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका- १, पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । झडमा दुई सशस्त्र  प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवानहरु आयुषराय यादव र नरेश यादव घाइते रहेका छन् ।

उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट लागेको अस्पताल आकस्मिक विभागका प्रमुख. डा उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार अर्का घाइते नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ । दुवै खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

भारतीयले ओरिया खोलामा आज बालुवा उत्खनन गरेर लैजाँदै गरेका अवस्थामा भारतीय ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरु घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले स्थिति सामान्य रहेको सशस्त्र एसपी राजेन्द्र खडकाले बताए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टि र पिडारीगुठीको संयुक्त टोलीले बालुवा लोड गरिरहेका तीनवटा भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको बताइएको छ । ट्रयाक्टर खोलामा फसेपछि भारतीय गाउँ गदियानी भंगाहाका बासिन्दाले लाठी, भाटा, बेल्चा तथा ढुंगाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । साथै नियन्त्रणमा लिएका ट्र्याक्टर पनि भारतीयले खोसेर लगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पिडारीगुठीका सशस्त्रका इन्स्पेक्टर वसन्त जिसीले जानकारी दिए ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु