गृहपृष्ठ सुनचाँदी क्षेत्रका कालिगढको सीप विकासका लागि शुभगुरु फाउन्डेसन स्थापना

सुनचाँदी क्षेत्रका कालिगढको सीप विकासका लागि शुभगुरु फाउन्डेसन स्थापना

सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सीप विकास गर्ने उद्देश्यले शुभगुरु फाउन्डेसन स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको सुनचाँदीका गरगहना बनाउने सीप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको हो ।

शुभगुरु सुनचाँदी गृहका सञ्चालकहरू सूर्य बराल र राधा गुरुङको २५औं विवाह वर्षगाँठको अवसर पारेर फाउन्डेसन स्थापना गरिएको छ । फाउन्डेसन स्थापनाको जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सीप विकास र सम्मान गर्न फाउन्डेसन स्थापना हुनु सुनचाँदी क्षेत्रका लागि नै महत्वपूर्ण भएको बताए ।

निजी स्तरबाट गरिएको अभियानको प्रशंसा गर्दै उनले राज्यले सुनचाँदी क्षेत्रमा भएका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको बताए । अध्यक्ष महर्जनले सुनचाँदी व्यवसायीको आर्थिक र सामाजिक उन्नती भए पनि अहोरात्र खटिने कालिगढको क्षमताको उचित मूल्यांकन नभएको अवस्थामा फाउन्डेसन स्थापना कोसेढुंगा भएको धारणा राखे ।

फाउन्डेसनका संयोजक बरालले सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढ र व्यवसायीको ज्ञान, सीप, कला र विद्वताको सम्मान गर्दै सुनचाँदी व्यवसाय क्षेत्रको बृहत्तर विकास, सम्वर्धन र संरक्षण गर्नुपर्ने बताए । गहनाको परम्परागत निर्माण शैलीलाई आधुनिकीकरण र सहजीकरण गर्न आवश्यक पर्ने औजार र मेसिन खरिद गर्न सहयोग गर्ने बरालको भनाइ छ । गरिब, पिछडिएका र द्वन्दपीडित विद्यार्थीलाई सीप सिक्नका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम रहेको उनले जानकारी गराए ।

फाउन्डेसनले कालिगढको सीप विकासका लागि १० लाख २५ हजार २५ रुपैयाँको अक्षयकोष खडा गरेको छ भने उनीहरुको सीप र क्षमताको कदर गर्दै वार्षिक रुपमा पुरस्कृत गरिने जनाएको छ ।

नेपाल सुनचाँदी कला व्यवसायी संघका केशर सेञ्चुरी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष द्वारिकालाल शंकर,  नेपाल सुनचाँदी कला व्यवसायी संघका निर्देशक हरि रसाइली र नेपाल सुनचाँदी कालिगढ संघका अर्जुन विश्वकर्माले नेपालमा कार्यरत चार लाख कालिगढको विषयमा अहिलेसम्म कुनै मुर्त कार्यक्ररु नभएको अवस्थामा एउटा पसलको पहलमा स्थापना गरिएको फाउन्डेसनको उद्देश्य र सोच महत्वपूर्ण भएको बताए । उनीहरुले कालिगढको सीप र क्षमता विकासका लागि आवश्यक तालिम तथा विभिन्न कार्यक्रममा सुनचाँदी व्यवसायसँग सम्बन्धित सम्पूर्ण संस्था फाउन्डेसनसँग साथ र सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संखुवासभाका पूर्वसांसद डेडराज खड्काले फाउन्डेसनका सञ्चालकको समाजमा केही गरौँ भन्ने हुटहुटी फाउन्डेसनमार्फत पूरा हुने बताए । सुनचाँदी व्यवसायलाई अझ मर्यादित र सम्मानित बनाउन फाउन्डेसनबाट सहयोग पुग्ने उनको विश्वास छ । संस्थाको तर्फबाट यामबहादुर गुरुङले फाउन्डेसनको उद्देश्य र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु