गृहपृष्ठ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

मकालु गाउँपालिका- ५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु- ३ हेदाङनाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सन्तोष बुढाथोकीले जानकारी दिए ।
खाँदबारी-किमाथांका सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिएको थियो । ठक्करबाट राईकी श्रीमती प्रेमकुमारीसमेत गम्भीर घाइते भएकी छन् । राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका- ६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
राई श्रीमान-श्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालिममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेको शिक्षक हित कार्कीले जानकारी दिए । अहिले स्थानीयवासीले खाँदबारी -किमाथांकान सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्धसमेत पारेका छन् । (रासस)
प्रकाशित समय १४:१० बजे